जनता टाइम्स

१४ चैत्र २०७८, सोमबार २०:००

नारी जागरणले थाल्यो ‘नेतृत्वमा महिला’ अभियान, राष्ट्रपतिलाई बुझायो पत्र


काठमाडौं, १४ चैत । नारी जागरण अभियानले महिलाहरु सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा पछाडी परिरहेको वर्तमान अवस्था र नजिक आउँदै गरेका तिनै तहका सरकारहरुको चुनावको परिप्रेच्छेमा अभियानले नेतृत्वमा महिला अभियानको थालनी गरेको छ ।

‘नेतृत्वमा महिला’ अभियान सञ्चालन गरेसँगै आज राष्ट्रपति बिद्यादेवी भण्डारीलाई पोखरा आएको अवसरमा अनुरोध पत्र बुझाएको छ । संयोजक अञ्जु केसीले समृद्ध नेपाल, सुखी नेपालको उद्घोष व्यवहारमै सार्थक बनाउन सबै नेपाली जुट्नुपर्ने बेला आएको बताउनुभयो । निवेदनमा लेखिएको छ,‘विभिन्न समयका अभूतपूर्व आन्दोलन, संघर्ष र लगातारका प्रयासबाट हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आएका छौं ।

राजनीतिक परिवर्तन निकै तीव्र गतिमा भए पनि हाम्रो देशमा सामाजिक परिवर्तनको गति धीमा नै छ । शासन, कानुन, समय बदलिए पनि नेपाली समाज अझै पितृसत्तात्मक सोचबाट चलिरहेको छ । राजनीतिसहित समाजका सबैजसो क्षेत्रको नेतृत्वमा महिलाको उपस्थिति निकै कम छ, नीनि निर्माण तह र कार्यकारी भूमिकामा त झन् नगण्य नै छ । यो परिदृश्यलाई परिवर्तन नगरी नेपाली समाज सभ्य, वैज्ञानिक र समृद्ध बन्नै सक्दैन । यो परिवर्तनको नेतृत्व गर्ने राजनीतिक दलहरु नै हुन् ।

सामाजिक संघ, संस्था, राज्यको ऐन, कानुन र सामान्य मानिसको सोचले पनि यसलाई प्रभावित त गर्छन् नै, निर्णायक र सबैभन्दा ठूलो नेतृत्वदायी शक्ति राजनीतिक नेतृत्व नै हो । यही नेतृत्वले राज्यको बागडोरसमेत संहाल्छ ।’ हाल स्थानीय चुनावको तयारीमा र केही महिनापछि प्रदेश र संघका पनि चुनाव हुने भन्दै अब यसमा महिला नेतृत्वको विशेष ध्यान दिनुपर्ने बताइएको छ ।

नारी र पुरुषलाई एक रथका दुई पांग्रा भनिने भएपनि यसको व्यवहारिक पाटो भने फरक रहेको बताउँदै गण्डकीले भने केही समय अघि नै ‘नेतृत्वमा महिला’ अभियान थालेको थियो । ‘समाजका संघ, संस्थादेखि राज्यका निकाय र राजनीतिक दलमा महिलालाई उचित स्थान दिइनुपर्छ । राजनीतिक दलहरुले वडा, टोल कमिटीदेखि केन्द्रीय तहसम्म महिलालाई समुचित स्थान नदिएको देखिएको छ । यसलाई परिवर्तन गर्न खबरदारी गर्नु हाम्रो उद्देश्य हो ।

हाम्रो अभियान पुरुषविरोधी नभई महिला पुरुषको सार्थक सहयात्राको पक्षपाती हो । हामी हाम्रा बुवा, हजुरबुवा, दाजुभाइ, छोराहरुसँगसँगै विकास र समृद्धिको यात्रामा अघि बढी २१ औं शदीको चेतनशील नागरिक बन्न चाहन्छौं । असमावेशी र लैंगिक विभेदलाई हटाएर समाज परिवर्तनको नेतृत्व दलहरुले नै लिनुपर्छ ।

यसका लागि क्षमताका आधारमा आगामी स्थानीय चुनाव, पछि हुने प्रदेश, संघका चुनावसहित राजीतिक दलका टोलदेखि केन्द्रीय कमिटीसम्म महिलालाई पुरुषसरह उम्मेदवार बनाउन हामी माग गर्दछौं । नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित नभएसम्म यो अभियान निरन्तर रहनेछ, पत्रमा लेखिएको छ ।’

संविधानमा हरेक राजनितिक तहमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सूनिश्चिता गरकोे छ । तर औलामा गन्न सकिने संख्यामा मात्र महिलाहरु नेतृत्वमा छन् । प्रतिनिधी सभा, राष्ट्रिय सभा, स्थानीय तहहरुमा महिलालाई उपप्रमुखमा मात्र सिमित गरिएको छ । राज्यका राजनितिक सामाजिक लगायतका विविध क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिताका लागि संविधान र कानुनले सुचिश्चित गरेका प्रावधानहरुको अक्षरस पालन गर्नका लागि अभियानले माग गरेको छ ।

नारी जागरण अभियानले महिलाहरुको सचेतना, क्षमता अभिवृद्धि, स्वरोजगार, आयआर्जन र सामाजिक विकृतीविरुद्ध खवरदारी लगायतका विषयमा विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो । समाजमा देखिएका विकृतिहरु नियन्त्रणको अभियान समेत गर्दै आएको छ । संयोजक केसीले आधुनिकताका नाममा सांस्कृतिक र सामाजिक महत्व बोकेको संस्कारलाई अभद्र, दम्भी र ढोंगी आवरणले ढाक्न थालेको भन्दै यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सामाजिक विकृतिका कारण समाजमा कमजोर आर्थिक हैसियत भएका महिलाहरुलाई नैराश्यता बढ्दै गएको, धनि–गरिवबिचको विभेद बढ्दै गएको र सामाजिक सद्भाव समेत खल्वलिने खतरा निम्तने अवस्था रहेको भन्दै यसको नियन्त्रणको अभियान सुरु गरेको हो । केसीले भन्नुभयो,‘नारी जागरण अभियानले यस विकृतीविरुद्ध अभियान सञ्चालन गरेको हो ।’ यिनै विभिन्न मागहरु राखी नारी जागरण अभियानले आज राष्ट्रपति कार्यालय शितलनिवास कार्यालयमा ज्ञापनपत्र पेश गरेको हो ।

अभियानको स्थापना २०७५ सालमा भएसँगै महिलाहरुलाई आर्थिक सामाजिक र राजनितिक रुपले सवल र सक्षम बनाइ समाज र देश विकासको मूलधारमा समाहित गराउने रहेको छ । महिलाहरुको सचेतना, क्षमता अभिवृद्धि, स्वरोजगार, आयआर्जन, सामाजिक विकृती विरुद्ध खवरदारी लगायतका विषयमा विविध कार्यक्रमहरु यस अभियानले सञ्चालन गर्दै आएको छ । विगतमा तडक भडकमुक्त तीज अभियान, चाडपर्वलाई मितव्ययी बनाउने अभियान, महामारीका बेला मास्क, पिपिई वितरण अभियान जस्ता कार्यक्रम यस अभियानले सञ्चालनमा ल्याएको थियो ।