काठमाडौं, चैत १६ । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अस्तित्व जोगाउन नसकेर कांग्रेसको शरणमा पुगेको बताउनु भएको छ ।
भक्तपुरको सूर्यबिनायकस्थित आफ्नै निर्वाचन क्षेत्रमा आज आयोजित कार्यक्रममा बोल्दै नेता युवा संघका इञ्चार्जसमेत रहनुभएका बस्नेतले प्रचण्ड र माधव कांग्रेसको शरणमा पुगेर आफनो अस्तित्व रक्षाको भीख मागिरहेको बताउनु भयो ।
बस्नेतले भन्नुभयो, ‘भिखारीले कचौरा थापे जसरी प्रचण्ड र माधव नेपाल कांग्रेसको दैला बाहिर बसिरहेका छन्, कांग्रेस केन्द्रीय समितिले के निर्णय गर्छ भनेर बसिरहनु भएको छ ।’ प्रचण्डले माओवादी जनयुद्ध गिरिजाप्रसाद कोइरालाको पाउमा चढाएको बस्नेतले बताउनुभयो । प्रचण्ड र माधवले अहिले प्राप्त उपलब्धि शेरबहादुरको पाउमा सुम्पिएको उहाँको भनाइ छ । ‘प्रचण्डले रुखमा चढेर काफल खान सक्नु भएन, भुईँमा झरेको काफल खानुभयो’, उहाँले भन्नुभयो ।
बस्नेतले एमाले प्रवेश गरेका पूर्वलडाकुलाई पार्टी र युवा संघमा उचित स्थान दिने बताउनुभयो । युवा संघ र पार्टीले सल्लाह गरेर सबैलाई जिम्मेवारी दिने बस्नेतले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्