काठमाडौं, चैत्र १७ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिम सेती आयोजना निर्माण तत्काल अघि बढाउन अनुरोध गर्दै गाउँले (सुदूरपश्चिमवासी) ले २१ डोको चिट्ठी पठाएका छन् । सुदूरपश्चिमस्थित विभिन्न जिल्लाका झण्डै १ लाख नागरिकद्वारा हस्ताक्षर गरी डोकोमा भरेर ट्रकबाट एक साताअघि नै काठमाडौंमा ल्याइएपनि प्रधानमन्त्रीले सो पत्र बुझ्न समय दिनुभएको छैन । पश्चिम सेती आयोजना निर्माण निम्ति दबाब दिइरहेको ‘बोलन्या थली’ ले सो पत्र काठमाडौंमा ल्याएको संयोजक यादव जोशीले जानकारी दिनुभयो । समय नमिल्दा प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि ‘बोलन्या थली’ले पत्र भरिएको डोकोसहित केही दिनयता माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ ।

देउवा आगामी शुक्रबार भारत भ्रमणमा जाँदै हुनुहुन्छ। उनका स्वकीय सचिव भानु देउवाले सकेसम्म प्रधानमन्त्रीको समय मिलाएर पत्र बुझ्ने व्यवस्था मिलाउने जानकारी दिएको जोशीले बताउनुभयो । १ दिनमात्र बाँकी रहेकाले सकेसम्म पत्र बुझाउने, प्रधानमन्त्रीले पत्र बुझ्न समय नै नदिए भारत भ्रमणबाट फर्किएपछि नयाँ ढङ्गले आन्दोलन अघि बढाउने पनि जोशीको भनाइ छ । ‘हिजो आशा म¥यो , आज जवानी मर्दैछ , भोली सपना मर्नेछ’ नाराबाट शुरू गरिएको पत्रमा प्रधानमन्त्री देउवालाई ‘आश्वासनका २८ वर्ष–पश्चिम सेती कहिले बन्छ’ सोधिएको छ । पत्रमा लेखिएको छ, ‘हामी यता निकाई छौं, तमी पन त्यता निकाई होलाउ भन्या मान्याका छौं । तुहार स्वास्थ्य मजा रही शुभकामना बा । आज पत्र पठाउनुको खास कारण त केही थिएन । तर विगत २८ वर्ष देखिका मेरा आशा र सपनाहरूले एैठन ग¥यो र यो लेख्न बाध्य भएँ । सुदूरपश्चिम प्रदेशको गौरव, आर्थिक सामाजिक रूपान्तरणको वैभव र युवाहरूको सपना हाम्रो ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण प्रकृया तत्काल अगाडी बढाउन हार्दिक अनुरोध गर्दछु ।’
प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ हो । ७५० मेगावाट उत्पादन क्षमता रहने भनिएको पश्चिम सेती आयोजना बझाङ, डोटी, डडेल्धुरा र अछाम जिल्लाको सीमामा निर्माण गर्ने भनिएको थियो । सुदूरपश्चिमवासीलाई सन् १९८७ देखि नै पश्चिम सेतीबाट बिजुली निकाल्ने सपना बाँडिएको थियो । यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवकै आयोजनामा सूचीकृत गरेको छ । तर, चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा सो आयोजनाको प्रगतिबारे अर्थ मन्त्रालयले ‘मोडालिटी तय नभएकाले कार्यान्वयनमा नआएको’ लेखेको छ । अर्थात, पश्चिम सेती आयोजना सपना बाँडिएको ३५ वर्षसम्म पनि निर्माण चरणमा लगिएको छैन । यो आयोजनालाई सुदूरपश्चिमवासीले आफ्नो भाग्य र भविष्य फैसला गर्ने परियोजना भएको बताइरहेका छन् ।
सेती नदीमा ७५० मेगावाटको पश्चिम सेतीसहित ४५० मेगावाट क्षमताको एसआरसीक्स आयोजना बनाउने लक्ष्य सरकारको छ । हाल यो आयोजनामा लगानी जुटाउने जिम्मा लगानी बोर्ड नेपालले लिएको छ । तर, अझैसम्म लगानी जुटाउन सकेको छैन । यी दुई आयोजना बनाउन २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर ९करिब २ खर्ब ८८ अर्ब रुपैयाँ० आवश्यक पर्ने अनुमान गरिएको छ । बोर्डले यो आयोजना अझैसम्म लगानी जुटाउने प्रकृयामै रहेको जनाएको छ ।
पश्चिम सेती आयोजनाप्रति व्याकुल रहेका सुदूरपश्चिमका युवाहरूले आयोजना निर्माणका लागि दबाब दिन ‘बोलन्या थली’ मार्फत आवाज उठाइरहेका छन् । बोलन्या थलीले नै सुदूरपश्चिमका विभिन्न जिल्लावासीको हस्ताक्षरसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन खोजेको हो ।













प्रतिक्रिया दिनुहोस्