काठमाडौँ, चैत्र १७ । माधव नेपाल गठन गर्नुभएको एकीकृत समाजवादी पार्टीमा लाग्नु भएका दोलखाका नेता भुवन केसी नेकपा एमालेमा नै फर्कनु भएको छ ।सो पार्टीको जिल्ला उपाध्यक्ष बन्नुभएका केसी बिहीबार दोलखामा आयोजित एक कार्यक्रममा पुरानै पार्टीमा फर्कनु भएको हो । माधवको पार्टीमा कुनै नीति र विचार नरहेको कारण पुरानै पार्टीलाई अघि बढाउने गरी फर्किएको केसीले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘सुखी नेपाली र समृद्धि नेपाल बनाउन नीति चाहियो, कार्यक्रम चाहियो, त्यतिकै मुखले भनेको भरमा कहाँ हुन्छ ।’आफ्नो टिम सहित एमालेमा फर्कनु भएका केसीले अहिलेको गठबन्धनमा समाजवादीले ठुलो स्थान कतै नपाउने दाबी गर्नुभयो । ‘गठबन्धन गठबन्धन भन्छ, कांग्रेसले ठुलो भाग खान्छ, हामीले भोट हालिदिने र कांग्रेसलाई जिताइदिने बाहेक केही हुँदैन’, उहाँले भन्नुभयो ।
देश र जनताको रक्षा गर्ने पार्टी एमाले नै भएकोले एमाले बाहेक अन्यत्र बस्न नसकिएको उहाँले बताउनुभयो । एमालेलाई अप्ठेरो पारेको बेला साथ दिएर अघि बढाउन आफूहरू पार्टीमा फर्किएको उहाँको भनाइ छ । ‘पार्टीलाई यति बेला घेराबन्दी छ, यस्तो बेलामा पार्टीलाई धोका दिनु हुँदैन भनेर पार्टीमा फर्किएका हौँ’, उहाँले भन्नुभयो ।
माधव नेपालको पार्टी कांग्रेसको सेवामा लागेको पनि उहाँले बताउनुभयो । कम्युनिष्ट भएर कांग्रेसको सेवा गर्ने कुरा आफ्नो नैतिकताले नमानेको उहाँको भनाइ छ ।
एमाले फर्कनु भएका केसी लगायतका नेतालाई पोलिटब्युरो सदस्य आनन्द पोखरेल, पार्वत गुरुङ, केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज सरस्वती बस्नेत, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले स्वागत गर्नुभएको थियो ।
समाजवादी युवा संघका केन्द्रीय सदस्य श्याम तामाङ पनि टिम सहित सोही कार्यक्रममा एमालेमा फर्कनु भएको छ । एमाले दोलखा अहिले पार्टी प्रवेश अभियान लिएर अघि बढेको छ ।













प्रतिक्रिया दिनुहोस्