जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १३:३४

स्थानीय तह निर्वाचनमा दुई तिहाई जित सुनिश्चित :एमाले उपाध्यक्ष पौडेल


ललितपुर, चैत्र १८। ललितपुर महानगरपालिका वडा नम्बर १८मा चार दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । बिसं २०४६ सालको जनआन्दोलन पछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज चार दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन । उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिट ब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल लगायतले खादा र अबिर लगाएर पार्टी प्रवेश गराउनुभएको थियो । वडा नम्बर १८ मगरगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बरको पार्टी नेकपा एमालेमा दैनिक सयौ नेता र कार्यकर्ता प्रवेश गर्न थालेको बताउनुभयो । बैशाख ३० गते हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरी एक नम्बरको शक्तिशाली पार्टी देखाउने दाबी गर्दै उहाँले भन्नुभयो–स्थानीय निर्वाचनमा दुई तिहाई बढी सिट ल्याएर बिजयी हासिल गर्नेछ । उहाले पार्टी प्रबेशको लहर चलेपछि पाचदलीय गठबन्धन डराएको बताउनुभयो ।

यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरेपनि एमालेको दबाबको कारण नरोकिएको बताउनुयभो । ‘अब कसैले चाहेर पनि रोकिदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस–पुर्वमत्री समेत रहनुभएका उपाध्यक्ष पौडेलले भन्नुभयो । उहाले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाउनुभयो ।

नेकपा एमालेमहानगर कमिटिका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाट ब्यापक प्रचारमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले प्रदेश पुर्वमन्त्री एवं सांसद जीवन खड्का, एमाले वागमती प्रदेश सदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, एमाले जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगर सहित सबै वडामा एमालेको जित सुनिश्चित भएको बताउनुभयो । सबैको एउटै भनाई थियो– ललितपुर जिल्ला एमालेको लाल किल्ला हो, आजैबाट सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लागौ, सबै मतदाताको घरघरमा जाऔ ।कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा सातवटा टोल कमिटिका अध्यक्ष सहित पदाधिकारी र सदस्यको सपथग्रहण गरिएको थियो । निर्वाचन लक्षित टोल कमिटी गठन भएपछि सोहीअनुसार प्रचार लगायत क्रियाकलाप हुनेछ ।

सातवटा टोल कमिटिको अध्यक्षहरुमा थानागाउका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखागाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगरगाउका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई जिल्ला इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य शुशिला नेपालले पद तथा गोपनीयताको सपथ खुवाउनुभएको थियो । १८ नम्बर वडा कमिटीका अध्यक्षगोपाल डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा उहाले आजैबाट पार्टी जिताउने अभियानमा लाग्नुपर्ने बताउनुभयो ।