जनता टाइम्स

१८ चैत्र २०७८, शुक्रबार १९:२८

दैलेखमा रित्तिन लाग्यो माधव समुह, सिंगै टीमसहित एमालेमै फर्किए गाउँपालिकाका अध्यक्ष


दैलेख, चैत १८ । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष एवं पूर्वमन्त्री अमरबहादुर थापाको क्षेत्रका प्रभावशाली नेता दानबहादुर थापा नेकपा एमालेमै फर्किनु भएको छ । माधव नेपालको भ्रममा परेर आफू नेकपा एकीकृत समाजवादीतिर लागेकोमा पछुतो गर्दै गाउँपालिका अध्यक्षसमेत रहनुभएका नेता थापासहित गाउँपालिकाको सबै टीम नेकपा एमालेमा फर्किएको हो ।

थापालाई स्वागत गर्न भगवतीमाई गाउँपालिकामै बृहत जनसभा गरिएको थियो । थापालाई नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाह, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्मासहितको टोलीले स्वागत गरेको छ । एमालेमै फर्किनु भएका भगवतीमाई गाउँपालिकाका अध्यक्ष थापाले केही दिन बाटो बिराए पनि अब एमालेमै रहेर जनताको सेवामा खट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित थापा पार्टी बिभाजन हुँदा पनि उनी नेकपा एमालेमै रहने भनेर अडान लिनुभएको थियो । तर पूर्वमन्त्रीको अमर थापाको दबावका कारण उहाँ नेकपा एसमा जान बाध्य बन्नुपरेको बताउनु भयो । नेकपा एसले प्रभावकारी काम नगरेको भन्दै दुई महिना अघि उहाँले पार्टीको सवै जिम्मेवारीबाट राजीनामा दिनुभएको थियो ।

प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार अध्यक्ष थापासँगै विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खड्का, कमला खत्री, मान बहादुर नेपाली, बल बहादुर थापा, सुशिला विक लगायत १२५ जना एमालेमा प्रवेश गर्नुभएको छ । पार्टी प्रवेशपछि थापाले एमाले नै जनताको सेवा गर्ने पार्टी रहेकोले फर्किएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले नै जनताको वास्तविक साथी हो र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको छु ।’

अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिनुभयो । दैलेखमा नेकपा एमाले पहिलेदेखिनै बलियो रहेको र अव झन मजबुद भएर दैलेखका सवै स्थानीय तहमा निर्वाचन जित्ने पक्का भएको बताउनु भएको छ ।

‘अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं,’ अध्यक्ष शाहले भन्नुभयो ।