जनता टाइम्स

३० चैत्र २०७८, बुधबार १७:१९

९५ प्रतिशत बन्यो ४२ किलोवाट अदलिखोला लघु जलविद्युत आयोजना


जुम्ला ३० चैत्त । गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गर्नुभएको छ । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,‘यो आयोजना जुम्लाकै लागि ठुलो र नमुना हो ।’ आयोजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ ।

दुर्गम र विकास पुर्वाधारबाट पछाडी परेको बस्तीमा यो आयोजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताउनुभयो । अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलोकन समेत भएको छ । गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताउनुभयो ।

उहाँका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् । त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउनुहुन्छ । आयोजनाका अपरेटर हिरालाल ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गर्नुभयो । उहाँले जलविद्युतमा काम गर्दा मेसिनरी चिजसँग जोखिम छ । तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो ।