चितवन, २ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब फेरि एक चुनाव हेरौँ भन्ने समय नरहेको बताउनुभएको छ । राप्रपा चितवनले आज भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङदेनले ठूला दललाई फेरि जिताएर देश बनाउन खोज्नु भनेको साँढेको टाङमुनी बाल्टी थापेर दूध आउनु जस्तै भएको बताउनुभयो ।
ठूला भन्ने दलहरूले विदेशीको सहयोग बिना नेपाललाई बनाउन नसक्ने सोचिरहेको भन्दै उहाँले भन्नुभयो, ‘अब एक चुनाव हेरौं भन्ने समय छैन । जनता कुनै राजनैतिक दलको गोठको वस्तु होइन। साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ?’ बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न नेपालीलाई किन बाध्य बनाएको भनेर ठूला दलहरूलाई उहाँले प्रश्न गर्नुभएको छ ।
लिङदेनले कृषिप्रधान देश भन्ने तर किसानले पैसा तिरेर पनि मल किन्न नपाउने अवस्था आउनुमा ठूला दल नै दोषी भएको बताउनुभयो । ‘नेपाली युवाले बिहे गरेको भोलिपल्टै अरेबियनको नोकर बन्न किन बाध्य बनाइयो ?’, उहाँले प्रश्न गर्नुभयो, ‘कृषिप्रधान देश भन्ने पैसा तिरेर पनि मल बीउ किन्न नपाइने ? चोरीको बाटोबाट ल्याएको मल बीउ किन्नुपर्ने ?’ कसैले उद्योग खोल्न चाह्यो भने सबै दललाई भाग छुट्याउनुपर्ने अवस्था रहेको भन्दै उहाँले सामान्य कर तिर्न पनि कमिसन खुवाउनुपर्ने बताउनुभयो ।
सुकुमबासीलाई एक टुक्रा कागज दिएर दलहरूले मागी खाने भाँडो बनाएको उहाँको आरोप छ । ३२ वर्ष एउटै खाले विचार बोकेको दलले देश चलाउँदा सोचेजस्तो परिवर्तन नभएको उहाँले बताउनुभयो । ‘३२ वर्षसम्म देश चलाउँदा जनताले देख्न पाउने विकास त टाढाको कुरा, बेरोजगारीको अखडा बन्यो ।
जसले गर्दा कतिपय गाउँमा मलामी पनि महिला नै जानुपर्छ’, उहाँले भन्नुभयो । उहाँले अब विकल्प सोच्ने बेला आएको बताउनुभयो । ‘चुनावलाई ख्याल ख्याल नठानौँ’, उहाँले भन्नुभयो, ‘भोट दिनुभन्दा अगाडी हजार पटक सोच्नुस्, बाजे–बाउको पार्टी भनेर भोट नदिनुस्, ठिक पार्टी र ठिक नेता चुन्नुपर्छ ।’ गएका चुनावहरूमा ठिक पार्टी र नेता चुन्न नसक्दा देश र जनताले दुःख पाएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्