नेपालगञ्ज, बैशाख ४ । नेपालगञ्ज उपमहानगरपालिकामा पशुपति दयाल मिश्रलाई पार्टी प्रवेश गराएर नेकपा एमालेले चुनावी शक्ति आर्जन गरेको छ । त्यसो त एमालेसंग मिश्रको नाता पाँच बर्ष अघिकै हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मिश्रले सूर्य चिन्ह लिएर बाँके क्षेत्र नं २ मा चुनाव लडनु भएको थियो । मधेसमा प्रतिकुल अवस्था ठानिएको त्यो बेला समेत मिश्र १६ हजार मत ल्याएर दोस्रो हुनुभयो ।
त्यतिबेला सूर्य चिन्ह मात्र लिएर चुनाव लडनुभएका मिश्र अहिले भने एमाले प्रवेश गरी केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । जनताको बहुदलीय जनवाद स्वीकार गर्ने एमालेलाई हृदयबाट नै स्वीकार गरी नेताको काँधमा मधेसमा आफ्नो पार्टीलाई सशक्त बनाउनु छ । मिश्रले नेपालगञ्जमा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चार हजार मान्छे एमाले प्रवेश गराउँदै भन्नुभएको थियो । त्यहीबाट शुरु भएको एमालेको मधेसमा वाहीवाही अहिलेसम्म दैनिक रुपमा बढिरहेको छ । मधेसमा अध्यक्ष ओली र एमालेको पुनः उदयको जस मिश्रलाई नै जान्छ । मधेसमा ओलीका बिश्वासिला पात्र बन्नुभएको छ मिश्र । नेपालगञ्ज हुँदै पश्चिममा हुने ओलीका हरेक सभामा उहाँको सहभागिता रहन्छन् । ओली आफैले उहाँलाई संगै लैजानुहुन्छ। सम्भवत मिश्र अब नेपालगन्जको मात्र होइन देशको नेता बन्ने दौडमा हुनुहुन्छ ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा अरू पार्टीमा आकांक्षीको भिड छ । तर, मिश्र भने एमालेबाट नेपालगञ्जको मेयर उम्मेदवार हुनेमा ढुक्क हुनुहुन्छ । एमाले स्रोतका अनुसार, पार्टी प्रवेश हुँदै नेतृत्वले उहाँलाई नेपालगञ्ज उपमहानगरको मेयर बनाउने योजना बनाएको हो । ‘पार्टीमा प्रवेश गर्नुअघि नै मैले आफ्नो आकांक्षा नेतृत्वलाई भनेको छु’ मिश्रले भन्नुभया, ‘अब पार्टीले जे निर्णय गर्छ मान्न तयार छु ।’ उहाँको नाम एकल रुपमा सिफारिस भएको छ ।

गत स्थानीय निर्वाचनमा एमालेबाट सम्शुद्धिन सिद्धिकी मेयरका उम्मेदवार हुनुहुन्थ्यो । उहाँ ०५४ मा धवलशमशेर राणा मेयर हुँदा उपमेयर हुनुहुन्थ्यो । एमाले विभाजनपछि सिद्धिकी नेकपा एकीकृत समाजवादीतर्फ लाग्नुभएको छ । नेपालगञ्जमा संगठनात्मक मत नघटेको र आफूहरूसमेत जोडिँदा एमाले बलियो रहेको मिश्रको भनाई छ । ‘एक्ला एक्लै त अब हामीलाई कसैले हराउन सक्दैन । गठबन्धन एक भएर आए केही मिहिनेत गर्नुपर्ने हुन्छ’, मिश्रले भन्नुभयो, ‘सत्तारुढ गठबन्धनलाई हराउन हामीले पनि साना दलसँग तालमेल गर्नुपर्ने हुन सक्छ । तर, अहिलेसम्म एक्लाएक्लै लड्ने स्थिति छ ।’
मधेसकेन्द्रित राजनीतिक पृष्ठभूमिबाट आएका र व्यक्तिगत लोकप्रियतासमेत रहेका नेता पशुपति दयाल मिश्र एमाले प्रवेश गरेकाले यसपटक नेपालगञ्ज उपमहानगरमा मुख्य प्रतिस्पर्धा कांग्रेस–एमालेबीच हुने आँकलन छ । पुरानो राजनीतिक बिरासत बोकेका मिश्रको मेयर पदमा हुने सम्भावित उम्मेदवारीले यहाँको राजनीतिमा तरंग नै ल्याइदिएको छ । चुनावी हारजित बैशाख ३० गते पछि नै थाहा हुने भएपनि मिश्र मुख्य प्रतिस्पर्धीका रुपमा देखिनुभएको छ ।
उद्यम, राजनीति र समाजसेवा समाजका सबै भन्दा ठुला क्षेत्र हुन् । सबै व्यक्ति तीन वटै क्षेत्रमा सफल हुन सक्दैनन् । तर नेपालगञ्जका मिश्र जो उद्यम, राजनीति र समाजसेवामा अब्बल हुनुहुन्छ । तीनवटै क्षेत्रमा उनको नाम अगाडि नै आउँछ । हरेक नेताले सम्बृद्धिको यात्रा आफैबाट सुरु गर्नुपर्छ भन्ने निष्कर्ष छ, मिश्रको । त्यही कारणले उद्योग क्षेत्रलाई उहाँले छाड्न सक्नुभएको छैन । चन्दा लागि अरुको टाउको दुखाई दिनुपर्ने राजनीति कति दिनसम्म चल्छ ? पक्कै चल्दैन । त्यसकारण सकेसम्म आर्थिक रुपमा परिपक्क बन्नका लागि कुनै न कुनै उद्यममा लाग्नुुपर्ने तर्क छ मिश्रको ।

‘बुवा पनि गाविस अध्यक्ष हुनुहुन्थ्यो । गाउँमा हाम्रो राम्रै सम्पत्ति भएकाले आर्थिक समस्या झेल्नुपरेन,’ मिश्रले भन्नुभयो–‘तर पुख्र्यौली सम्पत्तिको घमण्ड मलाई कहिल्यै भएन् ।’ पशुपतिदयालले सानैदेखि केही गर्नुपर्छ भन्ने सोच राख्थे । त्यही सोचकैकारण उहाँ अहिले हरेक क्षेत्रमा सफल बन्नुभएको छ । त्यो राजनैतिक होस् चाहे समाजसेवा, हरेक दृष्टीकोणबाट जिल्लामा औंलामा गनिनेमा उहाँको नाम पनि अगाडीनै आउँछ ।
तर यी र यस्ता खाले नेताहरुको प्रवृतिबाट आफु टाडा रहेको उहाँ बताउनु हुन्छ । ‘सबैलाई त भन्दिन तर अधिकांश नेताहरु राजनीतिलाई पैसा कमाउने माध्यम बनाइरहेका छन,’ मिश्रले भन्नुभयो, ‘त्यसबाट टाढा रहनका लागि म ब्यापार ब्यवसायमा संलग्न भएको हु ।’
मिश्रले राजनीतिक जिवनको आरोह अवरोह देखेका छन् । तर सफलताबाट मात्तिने र असफलताबाट आत्तिने गर्नुभएको छैन । पराजित भए पनि आफु जनता माझ नै रहेको उहाँले बताउनु भयो । आजसम्म आईपुग्दा उहाँले परिवारको अभिभावक देखि राजनीतिक अगुवासम्मको भुमिका निर्वाह गरिरहेका छन् । जिल्ला विकास समिति बांकेको सभापति भइसकेका मिश्र नेपालगन्जको प्रतिष्ठित कर्णाली विकास बैंकको अध्यक्ष पदको जिम्मेवारी सम्हाली सक्नुभएको छ । ओम प्लाईको प्रबन्ध निर्देशक हुनुहुन्छ ।
मिश्र मुख्य गरी राजनैतिक, आर्थिक र समाज सेवामा सक्रिय हुनुहुन्छ । युवा अवस्थामा उहाँ सरकारी जागिरे पनि हुनुभएको थियो । गाउँमा खानदानी घरपरिवारका हुन् मिश्र । त्यसकारण आर्थिक समस्यासंग कहिल्यै जुझ्नु परेन ।
‘राजनीतिक र आर्थिक क्षेत्रसंगै विकास निर्माणका काममा पनि सक्रिय हुनुहुन्छ मिश्र । नेपालगन्जमा हुने विकास निर्माण सम्बन्धि योजनाहरु कार्यान्वयन गराउन उहाँ लागिपर्ने गर्नुभएको छ । नेपालगन्ज विश्वविद्यालय बनाउनुपर्छ भन्ने अभियानमा महत्वपुर्ण भुमिका रह्यो ।
नेपालगन्जको विकासका लागि मिश्रले ठुलो सपना देख्नुभएको छ । उहाँले नेपालगन्जलाई विकासले भरिभराउ बनाउन चाहनु भएको छ । त्यसका लागि जस्तो सुकै योगदान गर्न पनि तयार रहेको बताउनु हुन्छ मिश्र । ती सपना राजनैतिक इच्छा शक्तिबिना पुरा नहुने उहाँको ठम्याई छ । ‘नेपालगन्जका नेताहरुले काठमाडौंसंग पहुंच विस्तार गर्न सकेका छैनन् । जसको पहुंच छ उसले यहांको विकासका लागि ध्याननै दिएका छैनन,’मिश्रको भनाई छ ।

राजनीतिक यात्रासंगै आर्थिक क्षेत्रमा पनि मिश्र उत्तिकै सक्रिय हुनुहुन्छ । सरकारी गागिरे हुंदै मिश्रले काठको ब्यापार पनि गर्नुभयो । मध्यपश्चिमकै पहिलो सहकारी वित्तिय संस्था स्थापना गर्नुभयो । त्यसै गरी यस क्षेत्रकै पहिलो विकास बैंक कर्णाली विकास बैंक खल्नुभयो । कुनै बेला मिश्रकै लगानीमा संचालन भएको ‘गुड मर्निङ्ग दुध’ पनि नेपालगन्जमा चलेको थियो । संचार क्षेत्रमा पनि मिश्रको लगानी छ उहाँको । रेडियो बागेश्वरी एफएमका संचालक हुनुहुन्छ ।
राजनीति, आर्थिक र समाजसेवालाई संगसंगै लिएर अघि बढनुभएका मिश्र आफुले जिवनमा पाएका सफलतादेखि धेरै खुसी देखिनुहुन्छ । केही गर्नका लागि रिस्क मोल्न तयार मिश्र भन्छन–‘सम्पत्तिसंगै ऋण पनि त होला । केही गर्न र कमाउनका लागि रिस्क त मोल्नै पर्यो,’ उहाँ भन्नुहुन्छ । राजनीतिमा लागेकाको आर्थिक पक्ष सवल नहुंदा धेरै समस्या भएको भोगिरहेको देख्नुभएको छ मिश्रले । ‘जबसम्म नेता आर्थिक, राजनैतिक र समाजिक दृष्टिकोणबाट सवल हुंदैन तबसम्म देश र जनताको विकास हुदैन,’ मिश्रको सुझाव छ–‘ नत्र राजनीतिमा लागेपछि नेताहरु पैसा कमाउने बाटो रोज्छन।’













प्रतिक्रिया दिनुहोस्