काठमाडौं, बैशाख ६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताउनुभयो ।
उहाँले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दाबी गर्नुभयो नेम्वाङले बहिखाता लिएर जनतामा हिसाबकिताब देखाउन एमाले तयार रहेको उल्लेख गर्नुभयो । टर्चलाईट बालेर एमाले खोज्नुपर्छ भन्नेहरूलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उहाँको भनाई छ ।
उहाँले आगामी निर्वाचनमा एमालेको नभई आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरूको बक्सा खालि गर्ने धारणा ब्यक्त गर्नुभयो । त्यस्तै एमाले उपाध्यक्ष विष्णु पौडेलले विभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाउनुभयो । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उहाँको भनाई छ ।
पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिनुभयो । उहाँले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जीत हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा ब्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्