जनता टाइम्स

१० बैशाख २०७९, शनिबार १५:५३

सिन्धुपाल्चोक कांग्रेसका प्रभावशाली नेताले रोजे एमाले, प्रवेशसँगै गाउँपालिका अध्यक्षको उम्मेदवार


सिन्धुपाल्चोक, बैशाख १० । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुराना नेता जयबहादुर लामा नेकपा एमालेमा प्रवेश गरेका छन । पुराना र प्रभावशाली नेता लामासहित जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गर्नुभएको छ ।

उहाँहरुसँगै कार्यक्रममा कांग्रेस केन्द्रीय यातयात विभागका सदस्य नबिन्द्र योन्जन, तरुण दलका नेतालगायत एक सय बढी कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ । सोही कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष सानोकान्छा तामाङ पनि एमाले प्रवेश गर्नुभएको छ । २०७४ मा कांग्रेसले जुगल गाउँपालिकाका दुई वडामा अध्यक्ष जितेको थियो । अब कांग्रेस गाउँपालिकामै रित्तिएको छ ।

उहाँहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिट्ब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्यहरु दावा तामाङ, सरेश नेपाल, जिल्ला अध्यक्ष कमल नेपाल लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।पार्टी प्रवेश गरेसँगै लामालाई एमालेले जुगल गाउँपालिकाको अध्यक्षको उमेदवारसमेत बनाएको छ । कांग्रेसबाट गाउँपालिकाको दाबेदार भए पनि कांग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि लामासहितका नेताहरुले पार्टी परित्याग गर्नुभएको थियो ।

५ वर्षअघि जुगल गाउँपालिकाका अध्यक्षमा निर्वाचित एमाले नेता होमनारायण श्रेष्ठसँग लामाले नै प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतिस्पर्धामा एमालेका श्रेष्ठसँग लामाले १८१ मतअन्तरमा पराजय बेहोर्नु परेको थियो । सो निर्वाचनमा श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा जयवहादुर लामाले २६३७ मत पाउनु भएको हो । तेस्रो स्थानमा माओवादीका रेशम स्याङ्बोले २४४५ मत पाउनु भएको थियो ।

पाँच वर्षपछि हुन लागेको निर्वाचनमा शनिबार ठिक उल्टो दृष्य देखिएको छ । आफूसँग झिनो मतान्तरले पराजित जयवहादुरलाई एमालेमामा भित्र्याउँदै गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने कार्यक्रमको सञ्चालक होमनारायण श्रेष्ठ हुनुभएको छ । गाउँपालिका महासंघका अध्यक्षसमेत रहेका श्रेष्ठले यसअघि नै विपक्षीहरुको गठबन्धन भए आफैं भिड्ने नत्र अरुलाई मौका दिने घोषणा गर्नुभएको थियो ।