जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १८:४५

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा : भरतपुरमा यसपटक यसरी जित्न सक्छन एमाले उम्मेदवार


चितवन, बैशाख १२ । २०७४ सालको स्थानीय तह निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा कूल मतदाता संख्या १ लाख ५० हजार २७४ रहेको थियो । निर्वाचनमा १ लाख १२ हजार ८९७ मत खसेको थियो । खसेकोमध्ये १ लाख ११ हजार ४७३ मत सदर भएको थियो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेकपमा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका थिए । निर्वाचनमा मेयर पदमा माओवादीको तर्फबाट उम्मेदवार बन्नुभएकी रेणु दाहाल मतपत्र चपाएर पुनः निर्वाचन गराई भिनो मतअन्तरले विजयी बन्नुभएको थियो ।

निर्वाचनमा दाहालले ४३ हजार १२७ मत ल्याई विजयी बन्नुभएको हो । दाहालले नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीको भन्दा मात्र २०३ मत बढी ल्याएर विजयी बन्नुभएको थियो । ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गर्नुभएको थियो ।निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयर पदमा उम्मेदवार बनेका बद्रीनाथ तिमिल्सीनाले ६ हजार ८४२ मत पाउनु भएको थियो ।

२०७४ सालमा भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती शाह ठकुरी विजयी बन्नुभएको थियो । उहाँले ४७ हजार १९७ मत प्राप्त गर्नुभएको थियो । उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार दिब्य शर्माले ३९ हजार ५२५ मत प्राप्त गर्नुभएको थियो भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत ल्याउनु भएको थियो ।

यसपटक पुनः दाहाल उम्मेदवार बन्नुभएको छ प्रमुखमा । तर यसपटक उहाँको हार लगभग निश्चित जस्तै देखिएको छ । एमाले उम्मेदवार बिजय सुवेदी भरतपुरको बिकासको पर्याय रहनुभएको र कांग्रेसबाटै बागी उम्मेदवार भएपछि दाहाल उम्मेदवारी दर्ताकै दिन पराजयको बाटोतिर लाग्नुपरेको छ । नयाँ मतदाता एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आकर्षित हुनुले पनि यसपटक भरतपुरमा एमाले उम्मेदवार बिजयी बन्ने देखिएको मतदाताको बुझाइ छ ।