जनता टाइम्स

१२ बैशाख २०७९, सोमबार १९:०१

नासुको सम्पत्ति देखेर अख्तियार नै चकित


काठमाडौं, वैशाख १२ । भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमडौंका नायब सुब्बा (नासु) पदमा कार्यरत देवीबहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियारले आज थापाबिरुद्ध अदालतमा आरोपपत्र दायर गरेको हो ।

थापामाथि उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापा मिति २०५६।०४।०५ गते विचारी पदमा सेवा प्रवेशदेखि २०७५–०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले उल्लेख गरेको छ ।

आयोगका अनुसार थापाले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा एवं घर निर्माण लगायतका शिर्षकहरुमा तीन करोड ८९ लाख ४५ हजार पाँचसय ८८ रुसिपयाँ खर्च गरेको देखिएको छ ।

निजको वैध आय दुई करोड एक लाख ९८ हजार चार सय ३९ रुपियाँ भएको र एक करोड ८७ लाख ४७ हजार एक सय ४९ रुपियाँ बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको अख्तियारले ठहर गरेको छ । अख्तियारले निज थापाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १० बमोजिमको कसुर गरेको हुँदा निजलाई बिगो बराबरको बमोजिमको जरिवाना र कैद सजाय हुन माग दाबी पनि गरेको छ ।

साथै, अख्तियारले निज थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी बाबु कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि कानुन बमोजिम निजहरुलाई समेत प्रतिवादी कायम गरी निजहरुको नाममा रहेको सम्पत्ति जफत हुने मागदावी गरेको छ ।