जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १५:०२

एमाले सोलुखुम्बु अध्यक्ष बास्तोलाको चुनौती–आरोप प्रमाणित गरेर देखाउ


सोलुखुम्बु, बैशाख २४ । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोलाले आफुमाथि लगाईएका लान्छना र आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि नेचासल्यान गाउँपालिका अध्यक्षका लागि पार्टीबाट उम्मेदवार समेत रहनुभएका बास्तोलाले एक अनलाइनमा प्रकाशित समाचारप्रती आपत्ति प्रकट गर्दै आरोप प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको हो ।

शुक्रवार एक अनलाइन न्युज पोर्टलले बेनामे उजुरीका आधारमा गत कार्तिक ४ गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई लेखेको पत्रका आधारमा ुनेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाबिरुद्ध भ्रष्टाचारको मुद्दा अख्तियारमा शिर्षकमा समाचार प्रकाशित गरेको थियो। झण्डै ८ महिना अघिको पत्रलाई आधार बनाएर यतिबेला अनर्गल प्रचार गर्नु पीत पत्रकारिताको द्धोतक भएको बास्तोलाको ठम्याई छ।

समाचार सार्बजनिक भएकै दिन सामाजिक सन्जालमा प्रतिक्रिया दिंदै अध्यक्षका उम्मेदवार बास्तोलाले निर्वाचनलाई प्रभाव पार्ने यस्ता फण्डा, तिकडमलाई नेचासल्यानबासी आम जनसमुदाय ले राम्ररी बुझेको उल्लेक गर्नुभएको छ । नेचासल्यान गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारप्रति जनताको समर्थन बढ्दै गएको देखेर अत्तालिएका बिपक्षीहरुले आफ्नो चरित्र हत्या गर्न पित पत्रकारिताको सहारा लिएको बास्तोलाको आरोप छ।

बास्तोलाले सामाजिक सन्जाल फेसबुकमा लेख्नुभएको छ, ‘नेकपा एमालेप्रति जनताको समर्थन बढ्दै गएको देखेर पित पत्रकारितालाई आफ्नो मुख्य आदर्श ठान्ने पत्रकारमार्फत मेरो चरित्र हत्या गर्ने प्रयास भएछ । निर्वाचन लाई प्रभाव पार्ने यस्ता फण्डा, तिकडमलाई नेचासल्यानबासी आम जनसमुदायले राम्ररी बुझेका छन । म लगातार जनताको सेवामा लागिरहेको छु र मतदाताले मलाइ राम्ररी पहिचान गर्नुहुन्छ । आरोप को प्रमाणित गर्न सम्बन्धित पत्रकारलाई अनुरोध गर्दछु ।’