झापा, बैशाख २६। मेचीनगर वडा नं १० मा वडाध्यक्ष पदको उम्मेद्वारी दिएका कृष्णप्रसाद खरेल नेकपा एकीकृत समाजबादी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनमा खरेलले एकीकृत समाजबादीको उम्मेद्वारी समेत फिर्ता लिएको घोषणा गर्नुभयो ।
उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोइराला, प्रदेश सदस्य श्रीप्रसाद मैनाली, प्रदेश सदस्य राजु कार्की, नगर अध्यक्ष राजु पोखरेल, जिल्ला प्रचार विभागका प्रमुख गोपाल काफ्ले लगायतले पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत गर्नुभयो । खरेलले एकीकृत समाजबादीमा केही समय लागेकोमा आफुलाई पछुतो भएको समेत बताउनु भयो । उहाँले जारी गरेको प्रेस वक्तब्यमा नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गर्दै एकीकृत समाजबादीको उम्मेद्वारी फिर्ता लिएको जानकारी दिनुभयो ।
उहाँले नेकपा एकीकृत समाजबादी पार्टी कम्युनिस्ट सिद्धान्त, नीति र व्यवहारबाट स्खलित भई नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धनलाई जिताउने र मुलुकमा सामाजिक रुपान्तरणका लागि दशकौंदेखि संघर्षरत नेपाली कम्युनिस्ट आन्दोलनप्रति गद्दारी गर्ने षडयन्त्रमा लागेको स्पष्ट भएपछि आफुले सो पार्टी परित्याग गर्नु परेको वक्तब्यमा उल्लेख गर्नुभएको छ ।
मेचीनगरबासी आमाबुवा, दिदीबहिनी र दाजुभाइहरुलाई नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेद्वार बनेका गोपाल बुढाथोकी, उपमेयरको उम्मेद्वार मीना उप्रेती र वडा नं १० को वडाध्यक्ष पदको उम्मेद्वार नारायण खनाल लगायतलाई अत्याधिक बहुमतले जिताउन सूर्य चिह्नमा मतदान गरिदिन खरेलले अपिल गरेका छन् ।
वडा नं १० का मतदातामा खरेलको राम्रो पडक र प्रभाव रहेको छ । उहाँको एमाले प्रवेशले वडामा नेकपा एमालेका उम्मेद्वारहरुको जित सुनिश्चित भएको नेकपा एमाले मेचीनगर १० का चुनाव परिचालन कमिटीका संयोजक कमल मिश्रले बताउनु भयो ।














प्रतिक्रिया दिनुहोस्