जनता टाइम्स

२९ बैशाख २०७९, बिहीबार १९:०३

आचारसंहिताविपरीतका देशभर ३६ वटा घटना, ३४ जना पक्राउ


काठमाडौँ ,२९ वैशाख। स्थानीय तह निर्वाचनको आचारसंहिताविपरीत गतिविधि गर्ने ३४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मतदातालाई प्रभावित गर्ने उद्देश्यले विभिन्न गतिविधि गरेको, तोडफोड गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको  छ । प्रदेश १ मा ३, मधेस प्रदेशमा ४, वाग्मतीमा २१, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा ३ र सदूरपश्चिमबाट १ जनालाई नियन्त्रणमा लिएको प्रहरीको तथ्यांक छ । आचारसंहिताविपरीत देशभर ३६ वटा घटना भएको  छ ।

त्यस्तै, आचारसंहिताविपरीत वितरण गर्न लागिएको मासु, पैसा समेत बरामद गरेको छ । प्रहरीका अनुसार मौन अवधि सुरु भएदेखि २९ गतेसम्म ८ वटा सवारीसाधान तोडफोड भएका छन् । दुई पक्षबीच झडप हुँदा ५० जना घाइते भएको प्रहरीको तथ्यांक छ ।

प्रहरीले कर्णाली प्रदेशमा आचारसंहिताविपरीत २५ केजीको ८० बोरा चामल, ७ कार्टुन बियर‚ १० कार्टुन सफ्ट पेयपदार्थ, ५० केजी मैदा, २ कार्टुन डाइमन्ड रक्सी, १५ कार्टुन लिची रक्सीसमेत बरामद गरेको छ ।