जनता टाइम्स

३० बैशाख २०७९, शुक्रबार १७:१०

मतदान अवधि सकियो : यस्तो रह्यो दिनभर


काठमाडौं, ३० बैशाख। देशका विभिन्न स्थानमा झडप र हवाई फायर हुनुका बाबजुद स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।गठबन्धन र एमाले तथा गठबन्धनबीचकै दलहरूबिच विवाद हुँदा ठाउँ(ठाउँमा असहज स्थिति देखिएको थियो । तर मानवीय क्षतिसम्मको अवस्था आएन ।

सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । बाजुराको बुढीनन्दा गाउँपालिकाका दुई वटा मतदान स्थलमा ५ राउन्ड हवाई फायर भएको सुदूरपश्चिम प्रहरी प्रवक्ता भोलाबहादुर रावलले जानकारी दिनुभयो । विवादपछि दुवै मतदान स्थलमा मतदान रोकिएको छ । यसै गरी बुढीगंगा गाउँपालिकाको एउटा मतदान स्थलमा दुई राउन्ड हवाई फायर भएको थियो । त्यस ठाउँमा पनि मतदान रोकिएको थियो ।बझाङको जय पृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा पनि ३ राउन्ड हवाई फायर भएको एसएसपी रावलले जानकारी दिनुभयो ।कर्णाली प्रदेशका चार जिल्लाका ५ मतदान केन्द्रमा मतदान रोकिएको थियो । कालिकोटको रास्कोट गाउँपालिका, जुम्लाको गुटिचौर गाउँपालिका, हुम्लाको चंखेनी गाउँपालिका र खार्पुनाथ गाउँपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिकाका एक एक मतदान केन्द्रमा विवादपछि मतदान रोकिएको थियो ।बागमती प्रदेशअन्तर्गत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोडसम्मको अवस्था बन्यो । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको थियो ।

प्रदेश—१ अन्तर्गत धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका(१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ मा विवादका कारण मतदान रोकिएको थियो ।प्रदेश–२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका(२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको थियो । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुंगा मुढा गरेपछि मतदान रोकिएको जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलले जानकारी दिनुभयो ।एक पटक रोकिएर पुन सुचारु हुन खोजेको मतदान प्रभावित बनेपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ । महोत्तरीको बलुवा५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । वडाध्यक्षका उम्मेदवार मतदाताको नाम रुजु गर्नभन्दै मतदान केन्द्रबीच प्रवेश गरेपछि उनीमाथि हात पात भएर विवाद सुरु भएको थियो ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता धेरै स्थानमा विवाद हुने, मतदान रोकिने र छलफलपछि फेरी मतदान सुरु हुने अवस्था भएको बताए। झडपमा केही ठाउँमा घाइते भए पनि अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ।