काठमाडौं, जेठ १ । काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, नागार्जुन नगरपालिका, बुढानिलकण्ठ नगरपालिका र शङ्खरापुर नगरपालिका रहेका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले अग्रता लिनुभएको छ । साहले हालसम्म २ हजार ६०१ मत प्राप्त गरी फराकिलो मतान्तर बनाउनु भएको छ । उहाँलाई कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितले पछ्याइरहनु भएको छ । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरमा लिड गर्नुभएको छ ।
यस्तै कागेश्वरी मनोहरा नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार रामशरण ढुंगानाले अग्रता लिनुभएको छ । उहाँले १ हजार ६४८ मत प्राप्त गर्नुभएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राज कुमार नकर्मीले अग्रता लिनुभएको छ । नकर्मीले हालसम्म २ हजार ६२० मत प्राप्त गर्नुभएको छ।
गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार उद्धव विशष्ट १ हजार ८०२ मतका साथ अग्र स्थानमा हुनुहुन्छ । यस्तै, चन्द्रागिरी नगरपालिकाको प्रमुखमा एमालेका उत्तम बहादुर राउतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म १ हजार २३ मत प्राप्त गर्नुभएको छ ।
टोखा नगरपालिकाको प्रमुखमा १ हजार ४०२ मतका साथ एमालेकै उम्मेदवार प्रकाश अधिकारी अग्र स्थानमा हुनुहुन्छ । तारकेश्वर नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार रामेश्वर बोहराले अग्रता लिनुभएको छ । उहाँले हालसम्म २ हजार ८७ मत प्राप्त गर्नुभएको छ ।
दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म २ हजार ९४९ मत प्राप्त गर्नुभएको छ । यस्तै नागार्जुन नगरपालिकाको प्रमुखमा २८७ मतका साथ कांग्रेसका उम्मेदवार मोहन बहादुर बस्नेत अग्र स्थानमा हुनुहुन्छ ।
बुढानिलकण्ड नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार मिठाराम अधिकारीले अग्रता लिनुभएको छ । उहाँले २ हजार ५८ मत प्राप्त गर्नुभएको छ । यस्तैशङ्खरापुर नगरपालिकाको प्रमुखमा १ हजार ३०२ मतका साथ एमालेका उम्मेदवार कृष्ण लाल बजगाईं अग्र स्थानमा हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्