जनता टाइम्स

२ जेष्ठ २०७९, सोमबार १९:२०

पेट्रोलियम पदार्थमा फेरि मूल्यबृद्धिको गृहकार्यमा सरकार, भारतबाट भाउ बढेर आएको जिकिर


काठमाडौं,२ जेठ । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । नयाँ मुल्यसुची अनुसार निगमले एक लिटर पेट्रोल खरिद गर्दा इण्डियन आयल कर्पोरेसन आइओसीलाई १९२ रुपैयाँ ९४ पैसा तिर्नुपर्नेछ ।

यसअघि निगमले भारतबाट प्रतिलिटर १८४ रुपैयाँ ३६ पैसामा पेट्रोल खरिद गर्दै आएको थियो ।आइओसीले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने निगमले बताएको छ ।

निगमले आईओसीलाई हरेक महिनाको २ पटक भुक्तानी गर्नुपर्ने हुन्छ । निगमका अनुसार मे २०२२ को लागि पहिलो किस्ता भुक्तानी गर्दा १२ अर्ब ८० करोड रुपैयाँ भुक्तानी दिन नसक्दा  रकम बक्यौता रहन गएको छ । दोस्रो किस्ता वापत आगामी मे २३ मा थप करिब रु १८ अर्ब भुक्तानी गर्नुपर्ने भएको भन्दै निगमले जटिल परिस्थितिमा रकमको जोहो गरी आपूर्ति सहज गर्न ठूलो चुनौती रहेको बताएको छ ।

निगमले आगामी १५ दिनमा ४ अर्ब ४८ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ । निगमले शनिबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढाएको थियो ।