जनता टाइम्स

४ जेष्ठ २०७९, बुधबार १६:४९

पाल्पाले पायो पहिलो महिला अध्यक्ष, बगनासकाली गाउँपालिका अध्यक्षमा सरस्वती चिदी बिजयी


पाल्पा, जेठ ४ । पाल्पाले बगनासकाली गाउँपालिकाले महिला अध्यक्ष पाएको छ । सबैजसो स्थानमा प्रमुख पदमा पुरुषले कब्जा जमाइरहँदा पाल्पा बगनासकाली गाउँपालिकामा निर्वाचित भई नेकपा एमालेकी उम्मदेवार सरस्वती चिदी पाल्पामै पहिलो पटक महिला प्रमुखको इतिहास रच्नुभएको हो ।

नेकपा एमालेकी उम्मेदवार चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरी पाल्पाको पहिलो महिला अध्यक्ष बन्नुभएको हो । एमाले उम्मेदवार चिदीले ८ सय ३३ मत अन्तरले कांग्रेसकी अधिकारीलाई पराजित गर्नुभएको छ । चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजय हाँसिल गर्दा कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी हुनुभएको थियो । पालिकाको उपाध्यक्षमा नेकपा एमालेकै हरिप्रसाद पाठक विजयी हुनुभएको छ । पाठकले १ हजार ८५ मतले नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयलाई पराजित गर्नुभएको हो । एमालेका पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी हुँदा नेकपा एकीकृत समाजवादीका पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

९ वटा वडा रहेको बगनासकालीमा ६ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेले वडा नम्बर २ बाट तिर्थप्रसाद भट्टराई, वडा नं ३ बाट टिकाबहादुर थापा, वडा नं ४ बाट जितबहादुर कनौजे, वडा नं ५ बाट ओम प्रकाश गैरे, वडा नं ७ बाट गण बहादुर बुढाथोकी र वडा नं ८ बाट मोतिलाल बस्याल विजयी हुनुभएको छ । यस्तै नेपाली कांग्रेसबाट वडा नं १ बाट शेरबहादुर चिदी, वडा नं ६ बाट लक्ष्मीप्रसाद अधिकारी र वडा नं ९ बाट थानेश्वर तिमिल्सिना विजयी हुनुभएको छ ।

२०७४ सालको स्थानीयको निर्वाचनमा पालिका अध्यक्षसहित ५ वटा वडा जितेको कांग्रेसले २०७९ को निर्वाचनमा ३ वडामा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेकोमा २०७९ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडामा जित हाँसिल गरेको हो।

पाल्पामा सम्पन्न भएको ९ वटा पालिकाको मतपरिणाअनुसार एमाले अग्रस्थानमा रहेको छ । एमालेले ५ अध्यक्ष, ४ उपाध्य, कांग्रेसले २ प्रमुख, १ अध्यक्ष, १ उप प्रमुख, २ उपाध्यक्ष र नेकपा माओवादीले १ अध्यक्ष, १ उप प्रमुख, १ उपाध्यक्ष पदमा जित हाँसिल गरेको छ । ८१ वडा रहेको पाल्पामा ७६ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमाले ३८, कांग्रेस ३२, माओवादी केन्द्र ५ र जनमोर्चाले १ वटा वडामा जित हाँसिल गरेको छ।