कपिलबस्तु, जेठ ५ । गत स्थानीय तहको निर्वाचनमा एक सदस्य नजितेको दक्षिणी कपिलवस्तुको यशोधरा गाउँपालिकामा एमालेले यसपटक ३ वडाध्यक्षसहित अध्यक्ष–उपाध्यक्ष दुवै पदमा जीत हासिल गरेको छ । कांग्रेसलाई हराउँदै गाउँपालिको अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित हुनुभएको हो ।
अन्तिम मत परिणाम आउँदा तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउनु भयो भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी विन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गर्नुभएको हो ।
यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित तीनवटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । यहाँ केही महिनाअघिमात्र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेर ठूलो समूहमा एमाले प्रवेश गराउनु भएको थियो ।
पूर्वमन्त्री वृजेशकुमार गुप्ताको क्षेत्रमा पर्ने यशोधरा पालिका गुप्ताको प्रवेशसँगै एमालेको बलियो उपस्थिति देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्