जनता टाइम्स

१५ जेष्ठ २०७९, आईतवार १४:४२

बिदा मनाउन जोमसोम जाँदै थिए हराइरहेको तारा एअरको जहाजमा अर्का पाइलट


पोखरा, जेठ १५ । आइतबार सम्पर्कविहीन तारा एयरको जहाजमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु सवार थिए । जसमा दुई जना तेस्रो मुलुकका र चार जना भारतीय नागरिक थिए । उक्त जहाजमा तीन जना चालकदलका सदस्यसहित पाइटल वसन्त लामा पनि सवार हुनुहुन्थ्यो ।

यति एयरकै पाइलट लामा विदा मनाउन जोमसोम जान लाग्नुभएको थियो । पाइटल लामाले आइतबार बिहान मात्र जहाज उडाउनु भएको थियो । आफ्नो ड्यूटी सकेर बिदा मनाउन लामा जोमसोम जान लाग्नुभएको थियो ।

यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जोमसोम जानुअघि पाइटल लामाले चार उडान भर्नुभएको छ । बिहान जहाज उडाएर पछि पाइटल प्रभाकर प्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभएको थियो । सोही उडानमार्फत उहाँ जोमसोमतिर लाग्नुभएको हो ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको ट्वीनटर विमान अहिले सम्पर्कविहीन छ । तारा एयरका सिनियर क्याप्टेन घिमिरेले जहाज उडाइरहँदा सह(पाइटल उत्सव पोखेरेल र एयरहोस्टेज क्रिस्मी थापा साथमा हुनुहुन्थ्यो । सम्पर्कविहीन बनेको विमानमा सवार यात्रुको नामावली सार्वजनिक भएको छ । जसमा पाइलट लामाको पनि नाम छ । उक्त विमान मुस्ताङको लेतेबाट सम्पर्कविहीन बनेको थियो ।

यति एयरका प्रवक्ता बर्तौलाले विमानबारे अहिलेसम्म केही पत्ता नलागेको बताउनु भयो । ‘बाहिर हल्ला धेरै फैलिरहेको छ । तर, अहिलेसम्म जहाज फेला पारेका छैनौं । खराब मौसमका कारण खोजीकार्यमा समस्या भइरहेको छ,’ प्रवक्ता बर्तौलाले भन्नुभयो ।