जनता टाइम्स

१६ जेष्ठ २०७९, सोमबार १४:१३

अधुरै रह्यो राजनको सपना, अभिभावकलाई मुक्तिनाथ पुर्‍याउनै पाएनन


जनकपुर, जेठ १६ । तारा एयरको विमान दुर्घटनामा आइतबार धनुषाका एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । मिथिला नगरपालिका–११ लोटा टोलका राजनकुमार गोेलेसहित एकै परिवारका सात जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ छन् । मृतकमध्ये पुरुषोत्तम तामाङ्ग र तुलसादेवी काठममाडांैमा बस्दै आएका थिए । उनीहरु स्थानीय तह निर्वाचनका लागि भोट हाल्न गाउँ आएका थिए । राजनकुमारकी श्रीमती र छोराछोरी काठमाडौंमैै बस्ने भएकोले उनी पनि ओरहदोहर गरिरहन्थे ।

निर्वाचन सकिएपछि राजनकुमार पारिवारसहित शुक्रबार गाउँबाट पोखरा जानुभएको थियो । शनिवार दिनभर पोखरामै बिताएका उहाँहरू आइतबार बिहान मुक्तिनाथ दर्शन गर्न पोखराबाट मुस्ताङको जोमसोमका लागि तारा एयरको विमानमा चढनुभएको थियो । मृतक राजनकुमारका बहिनी ज्वाई मदन लामाका अनुसार उहाँहरू घरबाटै मुक्तिनाथ दर्शन गर्ने योजना बनाएर जानुभएको थियो ।

यता, मिथिला नगरपालिका–११ का वडाध्यक्ष वेदबहादुर कार्कीले एकै परिवारका सात जनाको मृत्यु खबरले पुरै गाउँ शोकमा डुबेको बताउनु भयो । ‘घटना भएको खबर पाएलगत्तै डर, भव्य थियो । कोही बाच्छन् की भन्ने आशा थियो । भागवानसँग हामीले प्रार्थना पनि गरिरहेका थियौं ।,’ वडाध्यक्ष कार्कीले भन्नुभयो, ‘तर, सोमबार बिहानै खबर आयो की विमानमा चढेका एक जना पनि रहेनन् ।’

उहाँहरूको शव गाउँ ल्याउने अवस्थामा नरहेकोले र दाहासंस्कार उतै हुनसक्ने उहाँले बताउनु भयो । यसैबीच, घटनाको जानकारी पाएलगत्तै मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो मृतकका परिवारजनको घरमा पुगेका छन् । मन्त्री महतो संघीय मन्त्री हुँदा राजनकुमार स्वकीय सचिव हुनुहुन्थ्यो ।