सोलुखुम्बु, जेठ १८ । नेकपा एमालेका नवनिर्वाचित दुई वडा सदस्यलाई एमालेकै कार्यकर्ताले कालोमोसो र जुत्ताको माला लगाएका छन । गाउँ कार्यपालिकाको चुनावमा कांग्रेस उम्मेदवारलाई भोट हालेको आरोपमा उनीहरुलाई पार्टी कमिटीको बैठकमै बोलाएर कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन ।
सोलुखुम्बुको सोताङ गाउँ कमिटीले भर्खरै स्थानीय तह निवार्चनमा पार्टीबाट विजयी सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई र वडा नम्बर–४ का सन्देश तामाङमाथि कांग्रेससँग मिलेमतो गरेको आरोप लगाएको थियो । पार्टी कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै २०७९ जेष्ठ १६ गते सोमबार सोताङ गाउँपालिकाको गाउँकार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीविपरित कांग्रेसलाई भोट हालेको बताउनु भएको छ ।
पैसाको प्रलोभनमा पार्टीको विधान, आचारसंहिता, मर्यादा र ह्वीप विपरित नेपाली काङ्ग्रेसलाई मतदान गरेको राईको विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई नेपाली कांग्रेसका सोताङ गाउँपालिका वडा नम्बर २ का पराजित अध्यक्षका उम्मेदवार उत्तमप्रसाद नाछिरीङले पच्चीस हजार दिने गरी ५ हजार अग्रीम दिएको दावीसमेत गरिएको छ । सोही अभियोगमा एमाले कार्यकर्ताहरुले कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाएर कार्वाही गरेको भन्दै भिडियोसमेत खिचेर सार्वजनिक गरेका छन ।
एमाले अध्यक्ष राईले बिज्ञप्तीमा नै नेपाली कांग्रेसका नेता कृष्ण तामाङले नेपाली कांग्रेसलाई भोट नदिए ज्यान मार्ने धम्की दिएको र निर्वाचनपछि लाखौं रकम दिने प्रलोभनमा पारेको सदस्यद्वयले बताइसकेको उल्लेख गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्