जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १८:५४

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे बालेन


काठमाडौं, १८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले भेट गर्नुभएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवासँगको भेटवार्ताका लागि शाह बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको मेयर भएकोमा बधाई दिनुभएको थियो । ]

त्यसक्रममा मेयर शाहले महानगरको विकास निर्माणमा सहयोगका लागि पार्टी र सरकारका तर्फबाट देउवासँग सहयोग माग्नुभएको थियो । प्रधानमन्त्रीले महानगरले गर्ने काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

‘विकासको काममा सहयोग हुन्छ, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाको भनाइ उदृत गर्दै उहाँले भन्नुभयो । शाहले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको थियो । शाहले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उहाँकै निवास बालकोट पुगेर भेटवार्ता गर्नुभएको थियो । निर्वाचित घोषणा हुनु अघिल्लो दिन उहाँ बालकोट पुग्नुभएको थियो ।