काठमाडौं, २१ जेठ । भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले हालसम्म ९० जनाको मुटु र १९६ को फोक्सो प्रत्यारोपण गरेको छ । शुक्रबार राजधानीमा आयोजित फोक्सो र मुटु प्रत्यारोपण सम्वन्धी पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । अस्पतालले मुटु प्रत्यारोपण सेवा दिन थालेको १५ बर्ष पुगे पनि फोक्सो प्रत्यारोपण सेवा भने करीब ९ बर्ष देखि सुरु भएको हो ।
अपोलोका पल्मोनोलोजी विभाग, क्रिटिकल केयर एण्ड स्लीप मेडिसिन विभागका बरिष्ठ सल्लाहकार डा. एमएस कंवरले उक्त सम्मेलनमा भारतमा अंग प्रत्यारोपण सम्वन्धी नीति र आफ्नो अस्पतालले गरेको विकासका बारेमा बताउनुभएको थियो । उहाँले अपोलोमा अंग प्रत्यारोपण तथा उपचार गर्न चाहने नेपालीले भारतीय सरह नै सुविधा पाउने पनि जानकारी दिनुभयो ।
यस्तै कार्डियोथोरासिक मुटु तथा फोक्सो प्रत्यारोपण शल्यक्रिया विशेषज्ञ डा. मुकेश गोयलले फोक्सोको दीर्घकालिन बिरामी भएर बाँच्नु बिरामी र परिवारका लागि निकै कष्टकर तथा खर्चिलो हुने भन्दै प्रत्यारोपण उपयुक्त बिकल्प भएको सुनाउनुभयो । उहाँले फोक्सोको प्रत्यारोपण पछि बिरामीले गुणस्तरीय जीवन लिन सक्ने सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा कार्डियक इलेक्ट्रोफिजियोलोजिष्ट र इन्टरभेन्शनल कार्डियोलोजिष्ट डा. भिनिता अरोराले नेपाली लगायत विश्वभरका फोक्सो र मुटुको प्रत्यारोपण गरिने जानकारी गराउनुभयो । उहाँले देब्रे मुटुले काम नगर्ने अधिकांश बिरामीहरुको मुटुको पम्प फेल हुन्छ या त अचानक कार्डियाक अरेष्ट हुन्छ भन्दै यस्तो बेलामा सावधानी पुर्वक जाँच गरेर कार्डियाक रिसिंक्रोनाइजेसन थेरापी उपकरण स्वचालित प्रत्यारोपण योग्य डिफिब्रिलेटर उपकरणहरु प्रयोग गरि बिरामीलाई बचाउन सकिने बताउनुभयो ।
मिर्गौला, कलेजो जिवित मान्छेबाट प्राप्त गर्न सकिने भएपनि फोक्सो र मुटु भने मृत्यु भएको व्यक्तिबाट मात्रै झिकेर प्रत्यारोपण गर्न मिल्छ । भारत सरकारले ब्रेन डेथ भएका व्यत्तिःहरुबाट संकलन गरेको अंगहरु प्राथमिकता निर्धारण गरेर प्रत्यारोपण गर्ने नीति लिएको छ । सरकारले सञ्चालन गरेको निकाय नेशनल अर्गान एण्ड टिस्यु ट्रान्सप्लान्ट अर्गनाईजेशन (नोट्टो)ले यसको व्यवस्थापन गर्दै आएको छ ।
डा. कंवरले अपोलो अस्पतालमा बिरामीको अवस्था हेरेर मुटु र फोक्सोको प्रत्यारोपण गरेको करिब नेपाली ५० लाख रुपैयाँ लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार मुटुको प्रत्यारोपण गर्दा अस्पताल बसाइ दुई देखि तीन सातासम्म हुन्छ । फोक्सोका लागि भने तीनदेखि चार सातासम्म बसाइ हुन्छ । प्रत्यारोपण गरेका बिरामी जीवनभर औषधि खानुपर्ने उहाँको भनाइ छ । दुई सातासम्म निरन्तर फ्लो अप गरिरहनु पर्ने पनि उहाँले सुनाउनुभयो ।













प्रतिक्रिया दिनुहोस्