जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १९:०२

जनप्रतिनिधिहरूको सम्मान कार्यक्रममा दलित महिला प्रमुख अतिथि, पहिलो सम्मान


सप्तरी, २० जेठ । सप्तरीका गाउँपालिका, नगरपालिकाका प्रमुख उपप्रमुखलाई सम्मान गर्ने कार्यक्रम शनिबार आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि दलित महिला ज्ञानीदेवी सरदार रहनुभएको थियो । उहाँले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सामुदायिक महिला विकास केन्द्र स्वडेकले स्थानीय तहको निर्वाचन २०७९ मा सप्तरी जिल्लामा निर्वाचित पालिकाका प्रमुख तथा उपप्रमुखको शनिबार सम्मान गरेको कार्यक्रममा जनप्रतिनिधिभन्दा पहिले दलित प्रमुख अतिथिले सम्मान पाउनुभएको थियो । २८ वर्षदेखि महिला सशक्तीकरण र आत्मनिर्भरका लागि निरन्तर काम गर्दै आएको स्वडेकले नव निर्वाचित जनप्रतिनिधिको मनोबल वृद्धिका लागि सम्मान गरेको संस्थापक अध्यक्ष इन्द्रनारायण देवले बताउनुभयो ।

‘एक शब्द बोल्न नसक्ने, पाँच रुपैयाँ निकाल्न नसक्ने महिला स्वडेकले लगानी गरेको ऋणबाट अहिले आत्मनिर्भर बनेका छन् । यो हाम्रा लागि खुसी र सफलताको कुरा हो,’ उहाँल भन्नुहुन्छ । संस्थामा ३ लाख ३० हजार महिला आबद्ध रहेका छन् ।

शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र गुप्ताले आर्थिक वृद्धिका लागि यस्ता संस्थाले पिलरको भूमिका खेल्दै आएको बताउनुभयो । समाजलाई सुसूचित गर्न वित्तीय संस्थाको महत्त्वपूर्ण भूमिका रहेको सप्तकोसी गाउँपालिकाको प्रमुख कृष्ण ढकाल बताउनुहुन्छ । विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवले भ्रष्टाचार अन्त्य नभएसम्म कुनै पनि ठाउँको विकास सम्भव नभएको धारणा राख्नुभयो ।