जनता टाइम्स

१ असार २०७९, बुधबार १४:४९

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन, सरकारको बद्‌नाम गर्न खोजियो : कानुन मन्त्री


काठमाडौं, १ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौताको प्रस्ताव नआएको बताउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्री शर्माले एसपीपी सम्झौताको प्रस्ताव नआएको जानकारी दिँदै सरकारको बद्नाम गर्न खोजिएको आरोप लगाउनुभयो ।

‘नेपाल सरकारले कुनै पनि ‘स्टेट पार्टनरसिप प्रोग्राम’का लागि इन्भाइट गरेको छैन, प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन । यो कुरा सरासर गलत हो, झुठा हो । सरकारलाई बद्नाम गराउने एउटा खेल मात्र हो,’ उहाँले भन्नुभयो ।

अमेरिकी सेना नेपालको इजाजतबेगर नेपाल आउन नसक्ने भन्दै उहाँले जबरजस्ती कुनै पनि सेना अर्को देशमा प्रवेश गर्न नसक्ने बताउनुभयो । एसपीपीलाई एमाले सदनमा आपत्ति जनाउँदै सरकारको जवाफ मागेको थियो भने कांग्रेसका सांसद गगन थापाले पनि यसबारे प्रधानमन्त्रीले तत्काल सदनमा उभिएर जवाफ दिनुपर्ने माग गर्नुभएको थियो ।