चितवन, १४ असार । चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार ५०० हेक्टरमा खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला वर्षे धान रोप्ने काम भइरहेको छ । जिल्लामा समग्रमा ३० प्रतिशत रोपाई भइसकेको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख युवराज पाण्डेकाअनुसार पूर्वी चितवनमा ४० देखि ४५ प्रतिशतसम्म रोपाइँ भइसकेको छ ।
माडीमा २० प्रतिशत र पश्चिम चितवनमा पाँच प्रतिशत रोपाइँ सकिएको उहाँले बताउनुभयो । जिल्लामा वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ३.६ मेट्रिक टन छ । ‘धान प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष महत्व दिएको छ । धान खेती प्रवर्द्धनका लागि भनेर सरकारले दुई करोडबढी रकम दिएको छ’, उहाँले भन्नुभयो । धान, मकै र गहुँको विउमा किसानलाई प्रोत्साहन गर्न यस वर्ष एक करोड २५ लाख रुपैयाँ प्राप्त भएको उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवनले भोलि (१५ असार) १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ रहेको छ । खैरहनी नगरपालिका–१३ मा मेशिनबाट धान रोपेर र भरतपुर महानगरपालिका–२५ मा प्रतियोगितात्मक कार्यक्रमसहित धान रोपेर दिवस मनाउन लागिएको हो ।
यसबाहेक विभिन्न कृषक समूह, कृषि सहकारी संस्था र नगरपालिकाले पनि दिवस मनाउन लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाई, चितवनका प्रमुख एवं वरिष्ठ कृषि अधिकृत धनबहादुर थापाले बताउनुभयो । नेपालमा सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी १३० वटा जातका धान रोप्ने गरिन्छ । चितवनमा भने बर्खे धानमा सबैभन्दा बढी सावित्री जातको धानले ओगटेको उहाँ बताउनुहुन्छ ।
त्यसको अलवा सावा मसुली सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३, चैते ५ लगायतका धान रोपिन्छ । कृषिमा प्रविधि भित्रिएपछि उत्पादकत्व बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वय एकाइ, चितवन सूचना अधिकारी माधव पौडेल बताउँछन् । उहाँकाअनुसार धानको उन्नत बिउ उत्पादन गर्ने स्रोत केन्द्रदेखि धान रोप्ने, काट्ने र पराल थन्काउनेसम्मका मेशिन जिल्लामा भित्रिएका छन् ।
‘पछिल्लो समय चितवनको धान उत्पादन बढेको छ’, उहाँ भन्नुहुन्छ, ‘असल विउको प्रयोग गरे मात्रै पनि २० प्रतिशत उत्पादन बढाउन सकिन्छ । युरिया मलको जथाभावी प्रयोग कम गरेपछि रोगकिरा कम लागेको किसानहरुले जनाएका छन्।’ धानको बिउमा चितवन आत्मनिर्भर भएको भन्दै उहाँले सूचीकरण नभएका बिउ प्रयोग गर्न नहुने बताउनुभयो । सामुदायिक नर्सरीको अभ्यासले किसानको उत्पादन लागत पनि घटेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्