सिन्धुपाल्चोक, २० असार । सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् ।
उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ कलंकी बस्ने वर्ष १८ का प्रिन्स थपलिया, सोही स्थानका रुस कार्की र २६ वर्षीय सुलभ क्षेत्री रहेको प्रहरीले जनाएको छ ।
उनीहरू २६ वर्षकी महिलालाई जबरजस्ती करणी गरी फरार भएका थिए । छुट्टै टोलीमा सुकुटे आएकी युवती आराम गर्न दिउँसो टेन्टमा सुतिरहेको अवस्थामा क्षेत्रीले बलात्कार गरेको, थपलिया र कार्कीले भने मतियारको रूपमा साथ दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।
आरोपीहरू भने एकै टोलीको रूपमा सुकुटे आएका थिए । जबरजस्ती करणी गरी फरार भएको भन्ने जाहेरीको आधारमा प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा काठमाडौं कलंकीबाट हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्