जनता टाइम्स

२३ असार २०७९, बिहीबार ०९:३४

बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सुरु, सुरक्षा व्यवस्था कडा


काठमाडौं, असार २३ ।  बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा मतदान सुरु भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो । मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको हो ।

सोही अनुसार बुढीगंगा नगरपालिकामा १० वटा बुथका १९ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ । मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । बुढीगंगामा सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो । घिमिरेका अनुसार पुनः हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

बुढीगंगामा पुनः मतदानका लागि ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ । मेयरमा एमालेबाट रामबहादुर बानियाँ र काँग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन् ।

बाजुराका बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, गौमुल गाउँपालिका, जगन्नाथ गाउँपालिका र खप्तड छेडेदह गाउँपालिका नेकपा एमालेले जितेको छ । नेपाली कांग्रेसले त्रिवेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका जितेको छ ।