काठमाडौं, असार २६ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ढिला चाँडो नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने भविश्यवाणी गर्नुभएको छ ।
नेपालको अवस्थामा अहिल्यै त्यस्तो नभए पनि स्वार्थी राजनीतिको बोलवाला, कूशासन, भ्रष्टाचारले ढिलोचाँडो श्रीलंकाकै बाटोमा पुर्याउने श्रेष्ठले भविश्यवाणी गर्नुभएको हो । माओवादी नेता श्रेष्ठलेसामाजिक सञ्जालमार्फत सचेत हुन र यथास्थिति तोड्न सकारात्मक धक्कायुक्त हस्तक्षेको जरुरत रहेको बताउनु भएको छ ।
‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं। यो सही नै हो। तर तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार–सिध्दान्त एवं मूल्यविहीन भ्रष्ट–स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्कोरुपमा पुर्याउने त्यतै हो,’ श्रेष्ठले लेख्नुभएको छ, ‘सचेत होऔं र समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको निम्ति सामूहिक एवं संगठित प्रयत्न गरौं ।’
श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनताले सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन । शनिबार उत्रिएको जनसागरले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय कब्जामा लिएका थिए । श्रीलंकन नागरिकहरु सडक उत्रिएर राष्ट्रपति र प्रधानमन्त्री निवासमै छिरेपछि उनीहरु सुरक्षित स्थानतर्फ भागेका थिए ।
शनिबार बेलुका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका थिए । आगजनीमा संलग्न तीन जनालाई प्रहरी पक्राउ गरे पनि त्यहाँ जनताहरुले सहज जीवनयापनको माग गर्दै विरोधमा उत्रिएका छन । यही प्रसंगमा श्रेष्ठले नेपालको अवस्था श्रीलंकासँग तुलना गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्