काठमाडौं, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हरेक कुरामा रुची राख्नुहुन्छ भन्ने कुरा सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमको दृष्यले प्रष्ट पारेको छ ।
नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइपुग्नु भएका ओली एकाएक सेतो क्यानभास, कही रंगहरु र कुची लिएर चित्र कोर्न तयारी अवस्थामा बस्नुभयो । अनि क्यानभानसमा आकृतिसहित रंग भर्न सुरु गर्नुभयो । ओलीको यो कामपछि कला प्रदर्शनी तथा कार्यशालामा व्यस्त देखिएका कलाकर्मीदेखि सञ्चारकर्मीसम्मको ध्यान खिच्यो ।

ओलीकै मुहार चित्र बनाउन व्यस्त रहेका चित्रकारहरूसमेत उहाँको चित्र सिर्जना अवलोकन गर्न लालायित बने । ओलीले क्यानभासमा गोलाकार देखिने आकृतिमा केही रेखाहरु कोर्नुभयो । गोलाकार आकृतिको ठीक माथि हतौडाको चित्र कोर्नुभएका ओलीले तलतिर दायाँबायाँतर्फ भने आगोको झिल्कोहरु आएको आकृतिहरु बनाउनु भयो अनि त्यसैमा आगोको रंग झल्कने सुन्तला रंग भर्नुभयो । गोलाकार बीचमा खैरो, नीलो छिट्फुट रंगहरु दलेर चित्र तयार भएपछि उहाँले क्यानभासको तल आफ्नो नामहितको हस्ताक्षर गरेर आफ्नो चित्रको अर्थ समेत खुलाउनु भयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीका अनुसार गोलाकार जस्तो देखिने आकृति पृथ्वी र तीभित्रका रेखाहरु भूमध्य र अक्षांश रेखाहरु हुन । केही रंगहरु हल्का देखिए पनि खाली र फिक्का जस्तो देखिने गोलाकार आकृति नै पृथ्वीको प्रतीक रहेको उहाँले खुलाउनु भयो । ‘पृथ्वीमा सबै हरियाली नाश भएर खाली हुँदैछ, पृथ्वीलाई माथितिरबाट हतौडाले ठोकेर नष्ठ गर्दैछ भने मुनितिरबाट आगोले ध्वस्त बनाउँदैछ । यस्तो समयमा हामीले पृथ्वीलाई जोगाउनुपर्छ,’ आफ्नो चित्रबारे ओलीले भन्नुभयो ।

ओलीले सबैतिरको आक्रमणबाट अब पृथ्वीलाई जोगाउनुपर्ने सन्देश नै आफ्नो चित्रले दिएको बताउँदै गर्दा सुनाउँदा प्रतिष्ठानका चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारी एवं उपस्थित सबै कलाकर्मीहरुको भिडले ताली गडगडाहटका साथ कलाकृतिको तारिफ गरेको दृष्य निकै रोचक देखियो ।
प्रतिष्ठानका चित्रकला विभागले गरेको पुस्तक लोकार्पण, मुहार चित्र कार्यशाला एवं चित्रकला प्रदर्शनीमा ओलीसहित पूर्व पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, नेकपा एमाले सांस्कृतिक विभाग प्रमुख रघुजी पन्त, राष्ट्रिय जनसांस्कृतिक महासंघका इन्जाज खगेन्द्र राई लगायतको सहभागितामा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित लेखकहरुद्वय यमप्रसाद शर्मा र नेमबहादुर तामाङद्वारा लिखित पुस्तकहरु क्रमशः ‘गोविन्दलाल सिंह डंगोल्ज पेन्टिङ्स डाइभरसिटी इन एक्सप्रेसन’ र ‘कला र सौन्दर्य शास्त्र’ लोकार्पण गर्नुभयो ।

पूर्वपराराष्ट्रमन्त्री ज्ञवालीसँगै ओलीले चित्रकारहरु गेहेन्द्रमान अमात्य, कृष्ण मानन्धर, मिथिलादेवी यादव, जीवन राजोपाध्यायलगायतका कलाकृतिहरु र प्रतिष्ठान परिसरमै प्रदर्शन गरिएको नेपाली क्यारिकेचरको समेत अवलोकन गर्नुभयो । कार्यशालामा चित्रकारहरु विजय थापा, कृष्णगोपाल श्रेष्ठ, पृथ्वी श्रेष्ठ, सञ्जय बान्तया, कृष्णप्रकाश शाह लगायतकाले ओली र ज्ञवालीको मुहार चित्रहरु तयार पार्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्