जनता टाइम्स

२८ असार २०७९, मंगलवार २०:०८

गठबन्धनबाट अति होइन, अत्याचार भयो : भगवती न्यौपाने


काठमाडौं, असार २८ । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सरकारको कामले जनतामा संघीयता प्रति नै वितृष्णा जगाएको बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै न्यौपानेले प्रदेश सरकारका कामले जनताले नो संघीयता भन्न लागेका बताउनुभयो । आज जनताबाट व्यवस्थाको नै आलोचना भइरहेको उहाँले बताउनुभयो । ’अहिलेको गठबन्धनले जनताले संघीयताको विरोध किन गरिरहेको छन् भन्ने कुरामा चासो दिनु पर्ने हो कि होइन ?’, न्यौपानेले प्रश्न गर्नुभयो ।

गण्डकी प्रदेशको सरकार प्रति धेरैले प्रश्न र औँला उठाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यले आफन्तका नाममा कोष बनाउन र आफैँले बनाएको संस्थामा ठुलो विकास बजेट विनियोजन गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘यो संघीयता के का निम्ति भनेर जनताले प्रश्न उठाउन थालेका छन्’, उहाँले भन्नुभयो ।

न्यौपानेले केन्द्रदेखि प्रदेशसम्मका धेरै योजनामा खुद्रे बजेट विनियोजन गरेको बताउनुभयो । गठबन्धनका सांसद् भएका वडामा करोडौँ रुपैँय बजेट हालिएको र उनीहरू नभएको ठाउँमा एक पैसा पनि नराखिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘संघीयता भनेको बाँडेर खानका निम्ति हो ? देशको स्रोत र साधनलाई दोहन गर्नका निम्ति हो ? भनेर प्रश्न उठाएका छन् जनताले’, उहाँले भन्नुभयो ।

अहिलेको गठबन्धन देशको हितका निमित्त नभएको उहाँले प्रष्ट पर्नुभयो । गठबन्धन जोगाउनको लागि पालै पालो मन्त्री र मुख्यमन्त्री भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘जब जनताका निम्ति काम लाग्दैन भने त्यो सरकार के का निम्ति ?’ उहाँले प्रश्न गर्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको विगत राम्रो नभएको र वर्तमान पनि सुखद नभएको बताउनुभयो । देउवाबाट सुखद भविष्यको परिकल्पना गर्न नसकिने उहाँले टिप्पणी गर्नुभयो । ‘देशको दोहन गर्न त्यो गठबन्धन किन चाहियो, गठबन्धनबाट अति होइन, अत्याचार भएको छ, इनफ इज इनफ’, उहाँले भन्नुभयो ।

अब शेरबहादुरको बहिर्गमन जरुरी भएको उहाँले बताउनुभयो । यसका विरुद्ध जनता जाग्न आवश्यक रहेको न्यौपानेले बताउनुभयो । उहाँले जनतालाई यसको विरुद्ध उठ्न आह्वान गर्नुभयो ।