जनता टाइम्स

३१ असार २०७९, शुक्रबार १९:२१

चीनले गर्यो नेपालबारे अमेरिकी भनाईको कडा प्रतिवाद


काठमाडौं, असार ३१ । छिमेकी मित्रराष्ट्र चीनले नेपाल र आफ्नो देशको बिषयमा दिएको अमेरिकी भनाईको कडा प्रतिवाद गरेको छ ।

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूतले एमसीसीबारे आफ्नो देशलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपालस्थिति चिनियाँ दूतावासले निन्दा गरेको हो । चिनियाँ दूतावासका प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइलाई चीनले नोटमा लिएको बताउनु भयो । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ बताएको भन्दै यसबारे प्रवक्ताले प्रतिक्रिया दिनुभएको हो ।

‘हामीले थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएका छौं । यो सबैलाई थाहा छ कि एमसीसी कम्प्याक्टको विषयमा नेपालमा तातो बहस भएको थियो । नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको छ, जुन घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख छ, नेपाल अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंग नहुने पनि स्पष्ट पारिएको छ । यो नेपाली सरकार र जनताले उनीहरुको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम हो,’ चिनियाँ दूतावासका प्रवक्ताले भन्नुभएको छ, ‘अमेरिकी पक्षबाट आएको प्रतिक्रिया विलकुल आधारहिन छ । यसले चीनलाई मात्र आरोपित गरेको छैन, नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको छ । वास्तविक दुष्प्रचार हो । चीन यसलाई दृढतापूर्वक अस्वीकार गर्छ ।’

 

निकट छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरुको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउनु सहयोग गर्ने पनि प्रवक्ताले प्रष्ट पार्नुभएको छ ।