पर्सा, असार ३२ । कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामार्यमाझडप भएको हो ।
शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते हुनुभएको छ । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्षको गालामा चोट लागेको छ । भित्र र बाहिर गरी पाँच वटा टाँका लागेको नारायणी अस्पतालले जनाएको छ ।
त्यसैगरि वडा नं ४ बस्ने अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया घाइते भएका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
घटनामा संलग्न रहेको आरोपमा ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो । ‘गाउँ सभामा नै प्रहरी टोली खटिएको थियो, झडप नै भयो भनेपछि थप टोली पठायौं’ उहाँले भन्नुभयो, ‘त्यसपछि हामीले भिडलाई तितर वितर पारेका थियौं, पछि वडा नं ३ बालुवाकट्टी जाने बाटोमा कांग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएको थियो ।’
शुक्रबार दिउँसो २ बजेतिर कालिकामाईको आठौं गाउँसभामा सुरु गर्न लागिएको थियो । सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ लगाउत २९ जना सदस्य पुरै सहभागी हुनुभएको थियो । तर सहमति हुन नसकेपछि शनिबार अपराह्न ४ बजे श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा बस्नेगरि बैठक डाक्ने तय भयो ।
सोही अनुसार अध्यक्ष बशिष्ट कुमारको आदेशले प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले सूचना पनि टाँस गर्नुभयो । उहाँहरु बसिरहेकै ठाउँमा वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढको भाइ रञ्जित आउनु भएको थियो । वडा नं ३ का अध्यक्ष पटेलले गाउँ सभा सदस्य र सहयोगी कर्मचारी मात्रै रहेको ठाउँमा सरोकार नभएको मानिस नआउन भनी प्रहरी लगाएर रञ्जितलाई बाहिर पठाएका थिए । त्यसैले गर्दा आक्रोशमा आएका रञ्जित साह गोढले आफू बाहिर निस्केपछि अचानक आक्रमण गरेको वडा नं ३ का अध्यक्ष पटेलको आरोप छ ।
‘ बाहिर मेरो गाउँका मानिसहरु पनि थिए, गाउँ सभा भोलिका लागि सर्यो, हो–हल्ला नगरी घर जान भनिरहेको थिएँ । तर अघि बाहिर निकालेकोमा रिसाएका वडा नं ४ का वडा अध्यक्षको भाइ रञ्जितले अचानक आएर मुक्का हाने, मैले हानेको थाहै पाइन, सबैतिर अँध्यारो भयो, रिंगटा लागेर लड्दै थिएँ, एक जना साथीले समातेर जोगाए ।’
त्यसपछि आक्रोशमा आएका दुवै पक्षका कार्यकर्ताहरुले कालिकामाईको विभिन्न ठाउँमा झडप गरेका थिए । अर्का घाइते मम्मद गफारले भने गाउँ सभा हेरेर फर्कने क्रममा आफूलाई घेरा हालेर आक्रमण गरेको बताउनु भयो । वडा नं ४ का वडा अध्यक्ष सञ्जय साह गोढले भने वडा नं ३ का अध्यक्ष आफैंले हानेर घाउ बनाएको आरोप लगाउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्