सिरहा, ७ साउन । गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले पूर्वमेयरले करारमा कर्मचारी भर्नाको नाममा कार्यकर्तालाई जागिर खुवाएको आरोप लगाउनुभएको छ । यही कारण त्यस्ता कर्मचारीको करार अवधि नथप्ने उहाँले प्रष्टाउनुभयो ।
नगर प्रमुख श्रेष्ठले पत्रकार सम्मेलन गर्दै गोलबजार नगर कार्यपालिकाको ३० असारमा बसेको बैठकले करारमा रहेका कर्मचारीको करारअवधि असार मसान्तमा स्वतः सकिएको अवस्थामा कार्यपालिकामा जननिर्वाचित नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका प्रतिनिधिसमेतको सहमतिमा करार अवधि थप नगर्ने निर्णय गरेको प्रष्ट पार्नुभयो ।
गोलबजार नगरपालिकामा पूर्वमेयरले करारका कर्मचारीका नाममा एउटै घरको तीन तीन जनालाई करारमा राखेको बताउनुभयो । गोलबजार नगरपालिकामा बिहीवार नगरप्रमुखको कार्यकक्ष तोडफोड भएको विषयमा मेयर श्रेष्ठले भन्नुभयो,‘शान्तिपूर्ण आन्दोलन भनिए पनि माओवादीका कार्यकर्ता र केही करारका कर्मचारीले सिटी बजाउँदै उग्रसैलीमा ढुंगामुंढा गरे ।’
उहाँले थप्नुभयो,‘मैले गल्ती गरेको छु भने कानुन छ, मविरुद्ध मुद्दा हाल्दा हुन्छ, मलाई कानुनले जे सँजाय दिन्छ भोग्न त्यार छु ।’ माओवादी केन्द्रले गोलबजार नगरपालिका कर्मचारी निस्कासन गरेको भन्दै विरोधका विभिन्न कार्याक्रम घोषणा गरेको छ । माओवादी कार्यप्रति आपत्ती जनाउँदै जनता समाजवादी पार्टीका प्रतिनिधि रामचलितर साहले नगरपालिकाभित्र गरिएको ढुंगामुढालगायत तोडफोड घटनाप्रति खेद प्रकट गरेको छ ।













प्रतिक्रिया दिनुहोस्