हेटौंडा, साउन ८ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ ।
डा. शेखर कोइराला र गगन थापा समूहका तर्फबाट उम्मेदवार बन्नुभएका लम्सालले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खडा गर्नुभएको सरकारी उम्मेदवारलाई धुलो चटाउँदै बिजयी हुनुभएको हो ।
प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार अनिता बिन्दुलाई सभापतिको उम्मेदवार बनाउनु भएको थियो । भर्खरै सकिएको मतगणनामा अनिता लम्सालसँग पराजीत हुनुभएको हो । प्रेस युनियनको बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवसहित अधिकांश पदमा पनि लम्साल समुहकै उम्मेदवार बिजयी बनेका छन ।
लम्साल ८ वर्षअघि भएको आठौं राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित हुनुभएको थियो । पराजयलगत्तै उहाँले पुन एक पटक अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणासहित अभियान चलाउनु भएको थियो । सोही अभियानले यसपटक बिजयको शिखरमा पुर्याएको हो ।
युनियनको बरिष्ठ उपाध्यक्षमा पनि लम्साल समुहकै प्रेम केसी बिजयी हुनुभएको छ भने महासचिवमा पनि सोही प्यानलका दिलिप पौडेल निर्वाचित हुनुभएको छ । यस्तै खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल सर्वाधिक मतसहित बिजयी हुनुभएको छ ।
अधिकांश पदमा लम्साल समुहको बाहुल्यता रहँदा एक खुला उपाध्यक्ष र कोषाध्यक्षमा भने संस्थापन समुह बिजयी बनेको छ । दुईमध्ये बाँकी रहेको एक खुला उपाध्यक्षमा संस्थापन पक्षका भिष्मराज ओझा र कोषाध्यक्षमा माधव धिताल बिजयी हुनुभएको छ । केन्द्रीय समितिमा पनि लम्साल समुहकै बाहुल्यता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्