जनता टाइम्स

११ श्रावण २०७९, बुधबार २०:५७

बिहीवार नेपाल भ्रमणमा आउँदै अमेरिकी बिदेश सहायक मन्त्री, यस्तो छ मिशन


काठमाडौं, साउन ११ । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने हुनुभएको छ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने भ्रमणमा बिहीबार नेपाल आउन लाग्नुभएको हो ।

उहाँ शुक्रबारसम्म नेपालमा रहने कार्यक्रम रहेको छ । नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेल्नुभएका लुको नेपाल भ्रमणलाई अर्थपुर्ण मानिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसपीपी अस्वीकार गरेको पत्र लेख्न रोखेको बेला उहाँको यो भ्रमण हुन लागेको हो ।

अमेरिकी सहायक बिदेशमन्त्री लू यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल भ्रमण गर्नुभएको थियो । त्यस बेला नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुनुअघि नेपाल आउनु भएको हो ।

नेपाल भ्रमणको क्रममा यसपटक लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसके पनि अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे एकिन भएको छैन ।