एजेन्सी । इराकको राजधानी बगदादमा बुधबार हजारौं प्रदर्शनकारी सुरक्षा घेरा तोडेर संसदमा प्रवेश गरेका छन् । यी प्रदर्शनकारीहरू शिया मुस्लिम धार्मिक नेता मौलाना मुक्तदा अल–सद्रका समर्थक थिए ।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको उम्मेदवारमा मोहम्मद अल सुदानीको मनोनयनको विरोध गरिरहेका थिए । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा समेत प्रहार गरेको थियो । त्यतिबेला संसदमा कुनै पनि सांसद उपस्थित थिएनन् ।
बुधबार प्रदर्शनकारीहरूले राजधानी बगदादको संवेदनशिल क्षेत्र र धेरै देशका दूतावाससहित अधिकाँश महत्वपूर्ण भवनहरूमासमेत आक्रमण गरेका थिए । सुरक्षा बलको एक स्रोतले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार सुरक्षा बलहरूले सुरुमा प्रदर्शनकारीहरूलाई रोक्न प्रयास गरे तर सकेनन र प्रदर्शनकारी संसदमा प्रवेश गरे ।
प्रदर्शनकारीहरू संसदको टेबुलमा चढे, गाउन र नाच्न थाले । तस्बिरमा उनी टेबलमा पल्टिएको र कुर्सीमा बसेको देखिन्छ । इराकका वर्तमान निवर्तमान प्रधानमन्त्री मुस्तफा अल काधिमीले प्रदर्शनकारीलाई संसदबाट बाहिर निस्कन आग्रह गर्नु भएको छ ।

९ महिनादेखि राजनीतिक गतिरोध
गत वर्ष अक्टोबरमा भएको इराकको संसदीय निर्वाचनमा मुक्तादा अल–सद्रको गठबन्धनले सबैभन्दा बढी सिट जितेको थियो । तर विगत नौ महिनादेखि देशका राजनीतिक दलहरूबीचको गतिरोधका कारण सरकार गठन हुन सकेको छैन ।
विगत नौ महिनादेखि त्यहाँका सांसदहरुले राष्ट्रपति र प्रधानमन्त्री चयन गर्न सकेका छैनन् । जसका कारण राजनैतिक गतिरोधको अवस्था सिर्जना भएको छ र न राज्य प्रमुख वा मन्त्रिपरिषद् नै छ । अहिले निवर्तमान प्रधानमन्त्री मुस्तफा अल काधिमीको सरकारले देश चलाइरहेको छ ।
गत निर्वाचनमा विजयी दलहरुबीच राजनीतिक सहमति हुन नसके कादिमी आगामी निर्वाचनसम्म प्रधानमन्त्री रहन सक्नुहुनेछ । यसअघि सन् २०१० मा पनि २८९ दिनको गतिरोधपछि नूरी अल मलिकी दोस्रो पटक प्रधानमन्त्री हुँदा इराकमा यस्तै अवस्था सिर्जना भएको थियो ।
गतिरोध प्रभाव
राजनीतिक गतिरोधका कारण २०२२ को लागि इराकको लागि बजेट छैन, जसले आधारभूत आवश्यकताका परियोजनाहरू र आर्थिक गतिविधिहरूमा खर्च गर्न रोकेको छ । यसका कारण त्यहाँ धेरै सेवाहरू बन्द भएको र मानिसहरूसँग रोजगारी नभएको बताउँछन्। पछिल्लो पाँच वर्षदेखि त्यहाँ लडाइँ नभएको र अर्कोतिर कच्चा तेलको भाउ बढेकाले मनग्य आम्दानी भइरहेको अवस्था यस्तो अवस्था आएको उहाँको भनाइ छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार नासिरिया सहरमा बस्दै आएका सेवानिवृत्त कर्मचारी मोहम्मद मोहम्मदले भन्नुभयो , ‘इराकमा सरकार छैन, बजेट छैन, सडकमा खाल्डाखुल्डी छन्, बिजुली र पानीको अभाव छ, स्वास्थ्य र शिक्षा पनि अवस्था पनि खराब छ।’

मुक्तादा अल सदर
शिया मौलाना मुक्तादा अल–सद्रले इराकमा अमेरिकी हस्तक्षेपको विरोध गर्नुभएको छ । उहाँले अक्टोबरमा भएको निर्वाचनमा आफ्नो गठबन्धनको जित भएको दाबी गर्नु भएको छ। अक्टोबर २०२१ मा भएको चुनावमा, मुक्तादा अल–सद्रको पार्टी ७३ सिटका साथ अगाडि थियो । तर, ३२९ सिट भएको इराकी संसदमा सरकार बनाउन १६५ सिट हुनु आवश्यक छ ।
तर, मौलाना सदरले अन्य दलसँग गठवन्धन गर्न नमान्दा सरकार गठन हुन सकेन । उहाँका समर्थकहरूले प्रधानमन्त्रीका लागि मोहम्मद अल–सुदानीको उम्मेदवारीको विरोध गरिरहेका छन्। उहाँ आफू इरानको नजिक रहेको बताउने गर्छन् ।
सन् २०१९ मा भ्रष्टाचार, बेरोजगारी र सार्वजनिक सेवाको अवस्थालाई लिएर ठूलो आन्दोलन भएको थियो । ह्युमन राइट्स वाचका अनुसार त्यतिबेला सुरक्षा बलको कारबाहीमा धेरै मानिस मारिएका थिए । मौलाना सदरका समर्थकहरू यसअघि सन् २०१६ मा पनि संसदमा प्रवेश गरेका थिए।
‘मानिसहरूलाई विरोध गर्ने अधिकार छ, तर यो शान्तिपूर्ण र कानूनी सीमाभित्रै हुनु पर्छ संयुक्त राष्ट्र संघ मिसनले भनेको छ । (बिबिसी हिन्दीबाट)













प्रतिक्रिया दिनुहोस्