जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार १७:३४

अन्ततः जेल पुगे यी डिएसपी, अदालतले देख्यो यस्तो अपराध


काठमाडौं, साउन १२ । नेपाल प्रहरीका एक जना प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई जेल सजाय सुनाइएको छ । सरकारी कागजात सच्याएकोमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार रूपैयाँ जरिवानाको फैसला भएको हो ।

विशेष अदालतले चैतमै सिंहलाई दोषी ठहर गरेपनि सजाय भने सुनाएको थिएन । हालै सार्वजनिक भएको पूर्णपाठमा सिंहलाई उक्त सजाय भएको उल्लेख छ । सिंहविरुद्ध जन्ममिति सच्याएर सेवा प्रवेश गरेको आरोप लागेको थियो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्धा दर्ता गरेलगत्तै सिंह निलम्बित हुनुभएको थियो ।

२०५८ सालमा प्रहरी निरीक्षकका लागि आह्वान गरिएको विज्ञापनमा सिंहले एसएलसीको नक्कली चारित्रिक प्रमाणपत्र बनाएर त्यसै आधारमा नागरिकताको प्रतिलिपी निकालेको ठहर गर्दै विषेश अदालतले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय गरेको हो ।
उक्त दफाको उपदफा १ अनुसार अपराध गर्नेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । बिभिन्न काण्डमा मुछिदै आएका सिंह अन्ततः पदबाटै जेलको सजाय भुक्तान गर्ने अवस्थामा पुगेका हुन ।