जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार ०६:४१

गठबन्धनको ‘माया प्रीति’ चुनावपछि सकिन्छ : सुरेन्द्र पाण्डे


सिन्धुपाल्चोक, साउन १५ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे ले कांग्रेस, माओवादी, समाजवादी लगायत दलहरूको गठबन्धनको ‘माया प्रीति’ मंसिरको चुनाव पछि समाप्त हुने उदघोष गर्नुभएको छ । कांग्रेसले अहिले गठबन्धन भित्रका दलहरूलाई आफू बलियो हुनका लागि माया प्रीति देखाएको उल्लेख गर्दै पाण्डेले चुनावपछि यो माया प्रेम चुनाव पछि सकिने बताउनु भएको हो ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाली कांग्रेसले अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको ललिपप देखाएर फकाए पनि कांग्रेसले उनलाई प्रधानमन्त्री कुनै पनि हालतमा नबनाउने ठोकुवा गर्नुभयो । प्रचण्ड अहिले प्रधानमन्त्रीको लोभमा फसेको बताउँदै उपाध्यक्ष पाण्डेले चुनावपछि माओवादीलाई काँग्रेसले प्रधानमन्त्री नबनाउने प्रष्ट भइसकेको बताउनु भयो ।

‘अहिले हामीलाई कमजोर बनाउँदा कम्युनिस्टहरू नै खुसी मनाउँदै होलान् तर बिस्तारै अरू कम्युनिस्ट शक्तिहरूलाई पनि कमजोर बनाउने खेलमा देशी, विदेशी शक्तिहरू लागेका छन्’ पाण्डेले भन्नुभयो । नेपाली कांग्रेससँग मुकाबिला गर्ने एउटा मात्रै पार्टी एमाले भएकाले नेपालका सबै कम्युनिस्टहरू ढिलो चाँडो एमालेमा आउनुको विकल्प नरहेको पनि उहाँको भनाई छ ।

एमाले छाडेर अन्य पार्टीमा गएकाहरूलाई अब एमालेमा नै फर्कनका लागि पनि उपाध्यक्ष पाण्डेले आग्रह गर्नुभयो । घरमा कहिलेकाहीँ झगडा हुन्छ, तर त्यही सामान्य झगडालाई लिएर घरै छाडेर जानु गलत भएको पाण्डेको भनाई थियो । घर छाडेर जानुभएका सबै आफ्नो घरमा फर्कनुहोस्, हामी यहाँहरूलाई उचित सम्मान गर्छौ’ पाण्डेले भन्नुभयो ।