जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार १९:२४

ओली सरकारले चुच्चे नक्सा जारी गर्यो, यो गठबन्धनले पुस्तकबाट नक्सा नै गायव पार्यो : अष्टलक्ष्मी शाक्य


गोरखा, साउन १५ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राष्ट्रियताको सवालमा पाँचदलीय गठवन्धनले अपराध नै गरेको बताउनु भएको छ । गठवन्धनकै कारण राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्ता खतरामा पुगेको पनि शाक्यले बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी गोरखाले आज जिल्ला सदरमुकाममा गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘छिमेकी देश चीन शक्तिशाली हुँदै गएकोमा अमेरिकालाई टाउको दुखेको बेला एमसिसिका नाममा अमेरिकालाई चीनविरुद्ध खेल्न आमन्त्रण गरिएको छ ।’

प्रशिक्षण कार्यक्रममा वर्तमान राजनीतिक शक्ति सन्तुलन र पार्टीको भूमिका अभिवृद्धि विषयमा बोल्दै उपाध्यक्ष शाक्यले देशको आन्तरिक राष्ट्रियतामाथि पनि गठवन्धन सरकारले खेलवाड गरेको बताउनु भयो । ‘केपी ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेकसहितका भूभाग समेटेर चुच्चे नक्सा सार्वजनिक गर्यो, जमिन फिर्ता लिने प्रक्रिया चलिरहेकै थियो,’ शाक्यले भन्नुभयो, ‘तर अहिले प्रधानमन्त्री कार्यालयले प्रकाशन गरेको पुस्तकमा पुरानै नक्सा छ, यो के हो ?’

उपाध्यक्ष शाक्यले गठवन्धन सरकारलाई कुनै पनि हालतमा हटाउनु पर्ने भन्दै उनीहरुका खराब पक्ष पर्दाफास हुँदै गएमा ढिलो चाँडो गठवन्धन आफैं भत्किने बताउनुभयो । नेपालमा कम्युनिष्टहरुलाई स्थापित हुन नदिने चलखेल हुँदै आएको उहाँको भनाई छ । ‘तर वामपन्थी आन्दोलन कमजोर बनाउने वातावरण हामीलेनै दिएको हो’ उहाँले भन्नुभयो, ‘नेतृत्वमा स्वार्थ, गुट, अराजकता बढ्न थाल्यो । समाजवादमा पुग्ने बाटो बिर्सिन थालियो ।’

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेकी सचिव एवम गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले जनताको बहुदलीय जनवादका मान्यताको आधारमा पार्टी निर्माण र परिचालन, पोलिटब्युरो सदस्य एवम् साँसद मनकुमारी केसीले स्थानीय तह निर्वाचनको सिकाई र आगामी निर्वाचनको तयारी, केन्द्रीय सदस्य रामशरण वस्नेतले संगठनात्मक सिद्धान्त, संगठन निर्माण र परिचालन एवम् गण्डकी प्रदेश कमिटि उपसचिव रश्मी अचार्यले जनप्रतिनिधि र पार्टी विचको सम्वन्धका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान

नेकपा एमालेबाट गोरखाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई पार्टीको जिल्ला कमिटीले सम्मान गरेको छ । जिल्ला कमिटिले आइतवार आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा गोरखामा एमालेबाट ५१ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । जसमा १० जना वडाध्यक्ष र अन्य ४१ जना वडा सदस्य रहेको जिल्ला सचिव काजीराम रोकाले जानकारी दिनुभयो । जनप्रतिनिधिहरुलाई सम्मान गर्दै नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जनताको मत जितेर काम गर्न आग्रह गर्नुभयो ।

‘नेकपा एमालेमाथि अहिले चारैतिरबाट हमला भैरहेको छ गठवन्धनले त झन् एमाले सिध्याउनै चाहेको छ’ उहाँले जनप्रतिनिधिलाई भन्नुभयो, ‘यस्तो विषम अवस्थामा स्थानीय तह निर्वाचनमा गोरखामा प्राप्त उपलब्धी सन्तोषजनक छ, यसलाई बचाउने र बढाउने गरि काम गर्नुहोला ।’ कार्यक्रममा जनता समाजवादी पार्टीका गोरखा जिल्ला सदस्य केशव पन्त नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।