जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार २०:२२

चुनावको तयारीमा बिनोद चौधरी, एकाएक गृहजिल्लामा बढाए सक्रियता


नवलपुर, साउन १६ । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरी गृहजिल्ला नवलपुरमा पार्टीको राजनीतिक कार्यक्रममा सक्रियता बढाउनु भएको छ ।

‘समृद्धि र विकास’ को एजेण्डा बोकेर राजनीतिमा होमिएका चौधरी जिल्लामा पार्टीका स्थानीय कार्यक्रममा सक्रिय हुन थाल्नुभएको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको निर्णय लगत्तै गृहजिल्ला नवलपुर पुगेका उहाँ दिनहुँ राजनीतिक कार्यक्रममा व्यस्त देखिनुभएको छ । गृह जिल्लामा चौधरीले पार्टीका नेता, कार्यकर्ताका साथै उद्यम गर्न इच्छुक युवाहरूसँग भेटघाट गर्नुभएको छ भने युवाहरूलाई उद्यमशील बन्न आफूले सहयोग गर्ने बचनसमेत दिनुभएको छ ।

निरन्तर जिल्ला आवतजावत गर्दै आएका कांग्रेस नेता चौधरीले पार्टीको स्थानीय कमिटीका पदाधिकारीसँगै निर्वाचित जनप्रतिनिधिसँग नवलपुरको विकासका बारेमा पनि छलफल गर्दै आउनु भएको छ । चौधरीले नवलपुरमा कांग्रेसको सांगठनिक अवस्था र पार्टीलाई बलियो बनाउन आवश्यक रणनीतिका बारेमा पनि छलफल चलाउनु भएको छ । आइतबार कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरूसँग स्थानीय तह चुनावका बारेमा समीक्षा गर्नुभएको थियो ।

चौधरीले जिल्लाका अन्य नेता कार्यकर्तासँगै पार्टीका विभिन्न भ्रातृ संस्थाका पदाधिकारी र सदस्यहरूसँग पनि छलफल गर्ने तयारी गर्नुभएको छ । आसन्न संघीय निर्वाचनमा कांग्रेस नेता चौधरी नवलपुरबाट उम्मेदवार बन्ने चर्चा छ । उहाँले पार्टीलाई बलियो बनाउन स्थानीय तहबाटै संगठनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

‘पार्टी संगठन बलियो बनाउन स्थानीय स्तरमा पार्टीले चाल्नुपर्ने कदमलगायतको विषयमा जिल्लाका साथीहरूसँग छलफल भयो’, चौधरीले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूसँग पनि यहाँको विकास निर्माणलगायतका विभिन्न विषयमा छलफल भयो ।’

नेता चौधरीले निर्वाचनमा उम्मेदवार बन्ने विषयमा पार्टीको निर्णय आफूलाई स्वीकार्य भएको बताउँदै थप्नुभयो, ‘चुनावमा उम्मेदवार बनाउने विषय पार्टीको कुरा हो तर आफू विकासका योजना र समृद्ध नवलपुरको योजना ल्याएको हुँ । नवलपुरको समृद्धितर्फ म सक्रिय भएर लाग्छु ।’ आइतबार जिल्ला समन्वय समिति नवलपुरसमेत पुगेका चौधरीले जिल्लाको समग्र विकासका लागि आफूले ल्याएको नमुना नवलपुर विकासको अवधारणालाई साकार पार्न समन्वय समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो ।

आफूले अगाडि सारेको नमुना नवलपुरको विकास अवधारणालाई समन्वय समितिले योजनामा राखेर कार्यान्वयनमा सहयोग गर्न समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मालाई आग्रह पनि गर्नुभयो । समन्वय समितिका प्रमुख विश्वकर्माले विनोद चौधरीले ल्याएको नवलपुर समृद्धिको योजनालाई अगाडि सार्न आफूहरू तयार रहेको जानकारी दिनुभएको छ ।