जनता टाइम्स

२० श्रावण २०७९, शुक्रबार १३:४८

माइकल अधिकारीको स्क्रिप्ट पर्फेक्ट पाएँ : सौगात मल्ल


काठमाडौं, २० साउन । अभिनयमा सौगात मल्लको आफ्नै छुट्टै पहिचान छ । उनले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गर्नुभएको छद । यसैले गर्दा पनि सौगात निर्माता तथा निर्देशकको नजरमा परिरहनु भएको छ । सफल अभिनेताको सूचीमा पर्ने सौगातलाई प्रायः दर्शकले नाट्य क्षेत्र हुँदै फिल्म क्षेत्रमा भित्रिएको भनेर चिन्छन् । तर, उनको कला क्षेत्रको आगमन रंगमञ्चभन्दा पहिले केही फिल्ममा काम गरेर भएको हो ।

निर्देशक तथा निर्देशक आकाश अधिकारीको फिल्म ‘रणभूमि’ मा उहाँले पहिलोपटक क्यामेरा फेस गर्नुभएको थियो । पहिलोपटक क्यामेरा फेस गरेको फिल्म हेर्न पटक–पटक हल पुगेका सौगातले त्यसपछि ‘दाग’, ‘पन्छी’ जस्ता फिल्ममा पनि अभिनय गर्नुभयो । तर, आफूमा अभिनेताको कुनै गुण नदेखेपछि थियटरमा अभिनय सिक्ने सोच बनाएर उहाँ नाटकतर्फ मोडिनुभयो । उहाँले फिल्म ‘लूट’ मा निभाएको हाकु कालेको चरित्र खुबै लोकप्रिय छ । उहाँ अभिनित पछिल्लो रिलिज ’कबड्डी ४’मा बमकाजीको चरित्र निर्वाह गर्नु भएका सौगातले त्यो चर्चा पाउनुभयो ।

हाकु काले उपनाम पाएका सौगातले आफ्नो क्यारेक्टरमा जीवन भर्ने कोसिस गरिरहनुहुन्छ । त्यसैले पनि हुन सक्छ, वास्तविकतासँग नजिक रहेर निर्माण गरिने फिल्ममा उहाँ मेकरको रोजाइमा पर्नुहुन्छ । आउँदो भदौ महिनामा उहाँ अभिनित तीन फिल्म प्रदर्शनमा आउँदैछ । यसमध्ये एक हो, माइकल अधिकारी । ३ भदौमा प्रदर्शनमा आउने फिल्ममा उनले निम्नवर्गीय व्यक्तिको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको श्रीमतीको भूमिकामा हुनुहुन्छ, सृष्टि श्रेष्ठ ।

रञ्जित रौनियार निर्देशित फिल्मको स्क्रिप्ट सौगातलाई निकै मन पराउनु भएको रहेछ । उहाँले स्टोरी सुनेर स्क्रिप्ट पढेपछि फिल्म गर्न तयार भएको बताउनुभयो । ’निकै फाइन स्क्रिप्ट थियो । यस्तो मैले कमै पाउँछु । मेरो क्यारेक्टरसँगै पूर्ण कथा नै स्पष्ट थियो,’ उहाँले भन्नुभयो । त्यसो त सौगातले आफ्नो क्यारेक्टरभन्दा अन्य क्यारेक्टर र स्क्रिप्टमा ध्यान नदिने गरेको गुनासो सुनिन्छ । त्यसैले उहाँले अभिनय गरेका केही फिल्महरूमा उनको भूमिका बुलन्द भए पनि स्क्रिप्ट भने कम्जोर थियो ।

सौगात यसलाई स्वीकार्नुहुन्छ । तर उहाँ पछिल्लो समय फेरिनु भएको छ । ‘मलाई स्क्रिप्टभन्दा पनि आफूले गर्ने भूमिका सशक्त हुनुपर्छ भन्ने लाग्थ्यो तर त्यसो होइन रहेछ । कथा बलियो भए मात्र चरित्रको काम नोटिस हुने रहेछ । किनकि मलाई निकै मन परेका र निकै मेहनतले तयार पारेका क्यारेक्टरहरू पनि नोटिस भएका छैनन् । एक किसिमले भन्ने हो भने मैले भूमिका निभाएका हाकु काले र बमकाजी मेरा लागि सजिला क्यारेक्टर हुन्,’ सौगातले भन्नुभयो ।

यसकारण पछिल्लो समय उनले क्यारेक्टरसँगै सम्रग प्रोजेक्टलाई ध्यान दिन थाल्नुभएको छ । सौगात आफूले निभाउने क्यारेक्टरसँगै स्क्रिप्टमा पनि उत्तिकै ध्यान दिने गर्नु भएको छ । जसले गर्दा उहाँलाई क्यारेक्टर तयार गर्न पनि मद्दत गर्ने गरेको बताउछन् । उनले माईकल अधिकारीमा निर्वाह गरेको निम्नवर्गीय क्यारेक्टर निर्देशककै अनुसार तयार भएको हो । किनकि सम्पूर्ण कुरा स्क्रिप्टमै लेखिएको थियो ।

‘क्यारेक्टर यस्तो हुनुपर्छ भन्ने छर्लंग थियो । त्यसैले मैले यसमा क्यारेक्टर निर्माणमा मेहनत गरिन् । त्यसलाई जीवन्त बनाउन गर्ने मेहनत त छ नै,’ उहाँले भन्नुभयो । एउटा राम्रो परिवार हुँदा हुँदै पनि पैसाको अभावले निम्त्याउने परिस्थिति नै फिल्म हो ।

पैसा र भावना बीचको आन्तरिक द्वन्द्व देख्न पाइने फिल्ममा उहाँले विवशता हावी भएको बताउनुहुन्छ । ’एउटा अभिभावकको दायित्व परिवारलाई सुखी राख्नु पनि हुन्छ । त्यसको लागि नै मेरो क्यारेक्टरले मेहनत गरेको छ । मेरो उद्देश्य आफ्नो परिवारलाई खुसी र सुखी बनाउनु हुन्छ’ उहाँले भन्नुभयो ।

उहाँकै अनुसार फिल्ममा भावनात्मक सम्बन्धलाई बलियो देखाइएको छ । पैसा नै ठूलो सोच्ने अधिकारी दम्पतीले बच्चा दिन तयार हँुदैनन् । यसपछि हुने संघर्षले दर्शकलाई छुने उहाँको बुझाइ छ । पैसाकै लागि आफ्नो कोखमा अरुको बच्चा लिएर जन्माउन् तयार दम्पतीले पछि बच्चा दिन अस्वीकार गर्छन् । त्यसपछि आउने कठिन स्थिति दर्शकका लागि मनोरञ्जनसँगै सिकाइ हुने सौगातको बुझाइ छ । ‘पैसाको अभावले हामीलाई के सम्म गराउन सक्छ ? यो त देखाइएको छ नै साथै हामीले मानवता गुमाउन सक्दैनौ भन्ने सन्देश पनि फिल्मी शैलीमै दिन्छ,’ सौगातले भन्नुभयो ।

सौगात फिल्ममा पितासमेत बन्नुभएको छ । तर कथाअनुसार उहाँ बच्चासँग धेरै अट्याचड हुनुहुन्न । यद्यपि उहाँले भावनात्मक रूपमा अभिभावत्वलाई महसुस गर्नु भएको छ । ‘एउटा परिवारले भोग्ने पीडा र बाँच्ने जीवनलाई महसुस गरे । बाल्यकाल गाउँमै बिताएकाले यसलाई नदेखेको होइन । यद्यपि अभिभावक भएर दायित्व बोकेर हुँदा बुझाई भिन्न हुने रहेछ,’ सौगातले भन्नुभयो । उनले फिल्मले दर्शकलाई मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने बताउनुहुन्छ ।

‘हामीले फिल्ममार्फत मनोरन्जनात्मक शैलीमै सन्देश भन्नेछौँ । दर्शकले यस्तो गर्दा यस्तो हुनेरहेछ, भन्ने महसुस गर्नु हुनेछ,’ सौगातले भन्नुभयो । फिल्ममा सौगात र सृष्टिसँगै अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरालगायतका कलाकारको अभिनय छ । पैसाकै लागि अरुको बच्चालाई आफ्नो रेखदेखमा जन्म दिन दम्पती आमाबुवा बनेपछि बच्चा फिर्ता गर्न नमान्दा आउने द्वन्द्व नै फिल्मको कथा हो । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गर्नु भएको हो ।

नयाँ टिमसँग पनि काम गर्न तयार हुने सौगातको भदौ महिनामा तीन फिल्म दर्शकले हेर्न पाउनेछन् । तीनै फिल्ममा उहाँको क्यारेक्टर फरक छ । परिवेश फरक छ । तर यो योजना अनुसार रिलिज तय भएका होइनन् । ‘फिल्महरू कोरोना भाइरसको महामारीका कारण ढिलाइ भएका थिए । प्रदर्शनमा आउँदा उस्तैउस्तै डेट पर्यो । तर दर्शकले मलाई सौगात भन्दा पनि क्यारेक्टरकै रूपमा पाउनु हुनेछ,’ उहाँले भन्नुभयो।