जनता टाइम्स

२४ श्रावण २०७९, मंगलवार १५:५६

चुनावी गठबन्धनबारे एमाले महासचिवले खोले मुख


काठमाडौं, साउन २४ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ ।

आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका राजनीतिक दलहरुले मात्रै निर्वाचनमा गठबन्धन गर्ने महासचिव पोखरेलले बताउनु भयो ।निर्वाचन आयोगमा आज दल दर्ताका लागि पुगेका उहाँले पत्रकारहरुको प्रश्नको जवाफ दिँदै एमाले महासचिव पोखरेलले सरकार निर्माणका क्रममा बहुमतका लागि गठबन्धन गर्नु उचित भए पनि चुनावअघि नै गठबन्धन गर्नु उचित नहुने बताउनु भयो ।

‘सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार छन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘कहिलेकाहीँ जनताले दिएको म्यान्डेटमा कुनै दल विशेषले बहुमत ल्याउन सकेन भने सरकार निर्माणका समयमा गठबन्धन गर्ने कुरा दुनियाँको लोकतन्त्रमा पाइन्छ । तर, चुनावमा गठबन्धन गर्ने कुरा भनेको अराजनीतिक कुरा हो । एक प्रकारले आफ्ना नीतिमाथि, विश्वास र भरोसा नहुने कुरा हो ।’

एमाले महासचिव पोखरेलले एमाले भने आफ्नो नीतिको आधारमा अघि बढ्ने र आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्ने पनि बताउनु भयो ।