जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १८:१५

नितिशकुमार ८ औं बिहारको मुख्यमन्त्री, उपमुख्यमन्त्रीमा लालुका छोरा तेजश्वी


एजेन्सी । नितिश कुमारले आठौं पटक बिहारको मुख्यमन्त्रीको सपथ लिएका छन् । उनलाई बुधबार राज्यपाल फागु चौहानले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

नितिशले हिन्दी भाषामा भगवानको नाममा सपथ लिए । त्यसलगत्तै तेजस्वी यादवले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । सपथ लिने बित्तिकै तेजस्वीले स्टेजमा नै नितिश कुमारको खुट्टा छोएर आशीर्वाद लिएका थिए । यसपछि नितिशले विपक्षीलाई २०२४ सम्म एकजुट रहन अपील गरेका छन् ।

सपथपछि नितिशले गरे बीजेपीलाई प्रहार
मुख्यमन्त्री नितिश कुमारले सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गरे। उनले नाम नलिई बीजेपीमाथि हमला गरे । नितिशले भने, ‘२०१४ मा आएका २०२४ मा रहे भने न ? हामी रहौं वा नरहौं उनीहरू भने २०२४ मा रहने छैनन् । २०२४ को लागि एकजुट हुन प्रतिपक्षलाई आग्रह गर्दछु ।’

छोराको शपथ हेर्न राबडी पुगिन्, लालु आउन सकेनन्
छोरा तेजस्वीको सपथ कार्यक्रममा सहभागी हुन राबडी देवी पनि राजभवन पुगेकी थिइन् । तर, तेजस्वीका पिता तथा राजद प्रमुख लालु यादव अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । सपथ गर्नुअघि नितिशले लालुसँग फोनमा कुरा गरी राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए ।

लालु दिल्लीबाटै सरकार गठनका लागि सक्रिय रहे
पटनामा छोरा तेजस्वी राजनीति बोर्डमा चेसको खेल खेलिरहे र दिल्लीस्थित सांसद छोरी मीसा भारतीको घरमा दिनभर टिभीमा रहेका राजद अध्यक्ष लालु यादवले छोरालाई घटनास्थलमै मार्गदर्शन गरिरहे । । त्यहाँ लालु यादवलाई भेट्नेहरू पुगे । आरजेडी सांसद प्रेमचन्द्र गुप्ता उनी बसेकै घर पुगेका थिए र दुबैले लामो समय बिहारको राजनीतिक अवस्थाबारे छलफल गरे।