जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार २३:४३

विमलाको गुनासो– एकराजले पैसा फिर्ता गरेन, पार्टीले पनि हेरेन


बुटवल साउन २७ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व राज्यमन्त्री विमला कुमारी वली खत्रीले दाङका वाइसिएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम अझै फिर्ता नपाएको गुनासो गर्नुभएको छ । सोही रकम उठाउन बस्नेतको घरमा जाँदा आफूमाथि कुटपिट तथा दुर्व्यवहारको आरोप लगाइएको उहाँको भनाइ छ ।

उहाँले सोही घटनापछि आफूले राज्यमन्त्रीबाट राजीनामा दिनुका साथै छानबिन समितिले प्रतिवेदन बुझाएको यतिका समय बितिसक्दासमेत रकम फिर्ता पाउन नसकेको बताउनुभयो । पार्टीका नेताहरूलाई पनि पटकपटक फोन गरेर यस विषयमा जानकारी गराउँदा पार्टीले समेत बेवास्ता गरेको उहाँको आरोप छ ।

उहाँले संचारकर्मीसंग भन्नुभयो , ‘म राज्यमन्त्री भएको बेलामा बस्नेतले लगेको ६ लाख ५० हजार रुपैयाँ मैले फिर्ता पाउनु पर्ने प्रदेश सरकारले गठन गरेको छानबिन समितिको पनि निष्कर्ष छ तर त्यो रकम उठाउन कसैले सहयोग गरेका छैनन् ।’ उहाँले भन्नुभयो आफू अहिले आर्थिक समस्यामा रहेको पनि बताउनुभयो । ‘मैले पाउनुपर्ने रकम दिलाइदिनुस् भनेर पार्टीका नेताहरूलाई पटकपटक सम्पर्क गरेर भनेकी छु तर नेताहरूले बेवास्ता गर्नुभयो,’ उहाँले भन्नुभयो । जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वली दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो ।