काठमाडौं, ६ भदौ । ‘मृत व्यक्तिलाई जिवित’ बनाएको भन्दै भ्रम फैलाएको आरोपमा एक जना पास्टर पक्राउ परेका छन् ।बुटवलको होली क्यालभरी चर्चका पास्टर कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे सोमबार दिउँसो बुटवलबाट पक्राउ परेका हुन् । गोतामेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो ।
विवेक सत्यालको नामबाट आइतबार सार्वजनिक भएको २ मिनेट ४५ सेकेण्ड लामो भिडियोमा बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको देखाइएको छ ।
यस्तो भिडियो भाइरल भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिनुभएको थियो। प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेर गोतामेलाई पक्राउ गरेको हो ।
भिडियोमा भुइँमा ‘मृत’ जस्तै सुतेकी महिला पास्टरको तन्त्रमन्त्रपछि केही बेरमा उठेर सरासर हिँडेको देखिन्छ । गोतामेले ‘प्रभु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन् । भिडियोमा एक महिलाले ‘सयवटा धामीले पनि निको नभएको, पाँचछ लाख खर्च गर्दा पनि निको नभएको’ लगायतका विषय बोलेको सुनिन्छ ।













प्रतिक्रिया दिनुहोस्