जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार १२:५१

तोडफोड गरेर कागजात कब्जा गर्ने नेविसंघका कार्यकर्ताको रजिस्ट्रेसन खारेज गर्ने त्रिविको चेतावनी


काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्षेत्रमा अमर्यादित र तोडफोडका गतिविधि गर्ने विद्यार्थीको दर्ता खारेज गर्ने जनाएको छ । त्रिविले आज पत्रकार सम्मेलनकै आयोजना गरेर आगामी दिनमा यस्ता कार्य गर्ने विद्यार्थीको रजिस्ट्रेसन खारेजी गर्ने चेतावनी दिएको हो ।

त्रिविका उपकूलपति धर्मकान्त बास्कोटाले तोडफोड गर्ने विद्यार्थीलाई उनीहरुको रजिस्ट्रेसन खारेजसम्मको कारबाही हुने बताउनुभएको हो । त्रिविले प्रेस विज्ञप्ति जारी गर्दै महत्त्वपूर्ण कागजात विद्यार्थीहरुबाटै लुटिएको घटनाप्रति ध्यानाकर्षण भएको पनि जनाएको छ । यस्तो कार्यमा संलग्न विद्यार्थीमाथि अप्रिय निर्णय लिन त्रिवि बाध्य हुने पनि विज्ञप्तिमा जनाईएको छ ।

त्रिविले पदाधिकारी तथा कर्मचारीमाथि हातपात जस्ता अभद्र व्यवहार गरी कागजात लुटिएको भन्दै केन्द्रीय कार्यालयमा शान्ति सुरक्षाको भरपर्दो प्रवन्ध मिलाउन गृह मन्त्रालयसमक्ष अपिल पनि गरेको छ । त्रिविका कागजात कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले कब्जामा लिएका छन् ।